काठमाडौं । विदेशमा सर्भर राखेर नेपालभित्र सेवा बिक्री गर्दै राजस्व छली गरेको आरोपमा काठमाडौंस्थित ‘नेपाल क्यान मुभ प्रालि’ नामक लजिस्टिक कम्पनीविरुद्ध राजस्व अनुसन्धान विभागले एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।
विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठका अनुसार आइतबार दायर गरिएको सो मुद्दामा कम्पनीका प्रमुख सञ्चालक तथा सेयरधनीहरू जीवन ज्ञवाली, सुदीप आचार्य, मनिषप्रसाद आचार्य, मिठु पौडेल, सीईओ गंगाबहादुर थापा तथा उपकार्यकारी निर्देशक संगम पौडेललाई प्रतिवादी बनाइएको छ।
विभागले पाँच जना प्रमुख सञ्चालकले कूल ६८ करोड ४४ लाख रुपैयाँ बराबरको कर छली गरेको ठहर गर्दै सोही रकम बराबरको जरिवाना मागदाबी गरेको छ। जसअनुसार विभागले एक अर्ब ३६ करोड ८८ लाख ११ हजार रुपैयाँ असुलउपर गर्न अदालतसँग माग गरेको छ। साथै, दोषीहरूलाई तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय दिनुपर्ने मागसमेत गरिएको छ। संगम पौडेलका हकमा भने आधा सजाय माग गरिएको विभागले जनाएको छ।
विभागका अनुसार, कम्पनीले आफ्नो अनलाइन पोर्टल ‘nepalcanmove.com’ को सर्भर अस्ट्रेलियामा राखी नेपालमै सेवा बिक्री गर्दै आन्तरिक राजस्व विभागको निगरानीबाट उम्कने प्रयास गरेको थियो।
२०७६/७७ आर्थिक वर्षदेखि सञ्चालनमा आएको कम्पनीले २०८१/८२ सालको फागुन मसान्तसम्मको व्यापार विवरण लुकाएको र पोर्टलको वास्तविक कारोबार म्यानुअल बिलिङ प्रणालीमार्फत छिपाएको विभागको दाबी छ।
कर छलीको सूचना पाएपछि विभागले तीनकुनेस्थित कम्पनीको कार्यालयमा छापा मारेर अनलाइन पोर्टलको ट्रायल ब्यालेन्स लगायतका दस्तावेज संकलन गरेको थियो।
५५.३३% सेयर रहेका सुदीप आचार्य र १६% सेयरधनी जीवन ज्ञवालीलाई विभागले पटक–पटक उपस्थित हुन ताकेता गरे पनि उनीहरू फरार रहेका छन्।
यसैबीच, सिइओ गंगाबहादुर थापा, मनिषप्रसाद आचार्य र संगम पौडेलले अनुसन्धानका प्रमाण नष्ट गर्ने सम्भावना देखिएपछि पक्राउ गरिएको थियो। उनीहरू धरौटी तिर्न नसकेपछि थुनामा रहेका छन्।
विभागले अन्य सञ्चालक तथा भेन्डरहरूलाई पनि बयानका लागि बोलाएको छ भने विदेशी भाग्न सक्ने भन्दै अध्यागमन विभागमा सूचना पठाएको छ।
राजस्व अनुसन्धान विभागले डिजिटल कारोबारमार्फत कर छली गर्ने अभ्यासविरुद्ध कठोर कदम चाल्ने जनाएको छ।