सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्यको नाममा संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्यो

काठमाडौं । सर्वोच्च अदालतका तीन जना प्रस्तावित न्यायाधीश र न्याय परिषद्का एक सदस्यको नाममा संसदीय सुनुवाइ प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।

शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको बैठक बसेर उक्त प्रक्रिया प्रारम्भ गरिएको हो। समितिले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद् सदस्य र वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल तथा उच्च अदालत दीपायलका प्रमुख न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो।

बैठकमा समितिकी सभापति इश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम आम नागरिकलाई जानकारी दिने प्रस्ताव राखिन्। साथै, सिफारिस भएका व्यक्तिहरूप्रति कुनै सूचना वा उजुरी भएमा समिति समक्ष पेश गर्न आह्वान गर्दै सो सूचना सरकारी तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशित गर्ने प्रस्ताव समेत गरिएको थियो।

सभापति न्यौपानेको प्रस्ताव समितिबाट सर्वसम्मत रूपले पारित गरिएको छ। सुनुवाइ प्रक्रियाअन्तर्गत सर्वसाधारणबाट प्राप्त हुने सुझाव तथा उजुरीको आधारमा संसदीय सुनुवाइ समिति प्रस्तावित उम्मेदवारहरूको योग्यता, इमानदारी, कार्यक्षमता र नैतिकता जाँच गर्नेछ।

अब आगामी दिनमा सो प्रक्रियाले ती व्यक्तिहरूको नियुक्ति अनुमोदन वा अस्वीकृत गर्ने निर्णयतर्फ उन्मुख हुने बताइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज