काठमाडौं । न्याय परिषदको शुक्रबार बिहान सम्पन्न बैठकले उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशका रूपमा सिफारिस गरेको छ। सिफारिस सूचीमा राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारी परेका छन्।
परिषदको सिफारिस अनुसार प्रधानन्यायाधीशले उनीहरूलाई नियुक्त गर्नेछन भने कार्यक्षेत्र समेत तोकिएको छ। भट्टराईलाई उच्च अदालत विराटनगर, कुँवरलाई पाटन, भण्डारीलाई सुर्खेत र तिवारीलाई तुलसीपुर उच्च अदालतमा कार्यरत गराउने निर्णय भएको हो।
राजन प्रसाद भट्टराई सरकारी वकिल समूह हुँदै मुख्य रजिष्ट्रार भएर उच्च अदालतको न्यायाधीश बनेका थिए। लामो समयसम्म मुख्य रजिष्ट्रारलाई उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गर्ने चलन रहँदै आएको भए पनि उनी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको कार्यकालमा न्यायाधीशमै सीमित भएका थिए। नियमावली संशोधनपछि अहिले भने उनी पुनः जेष्ठतामा उक्लिएका छन्।
लालबहादुर कुँवर उमेरमा भट्टराईभन्दा आठ वर्ष कान्छा हुन्, जसले गर्दा उनको लागि सर्वोच्च अदालतसम्म पुग्ने अवसर अझै बाँकी छ। भण्डारी र तिवारी पनि समान उमेर समुहका रहेकाले उनीहरूका लागि पनि आगामी दुई वर्षभित्र सर्वोच्च सिफारिसको सम्भावना रहेको देखिन्छ।
यसैबीच, परिषदको शुक्रबारको बैठकले अन्य सरुवा र नियुक्तिसमेत गरेको छ। बैदेशिक रोजगार न्यायाधीकरणमा कार्यरत उच्च अदालतका न्यायाधीश गोकर्ण डाँगीलाई बीरगञ्ज इजलासमा सरुवा गरिएको छ। यस्तै, हेटौंडा इजलासमा कार्यरत न्यायाधीश डा. शान्ता शेढाई सापकोटालाई बैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष तोकिएको छ।