काठमाडौँको उत्तरी भेगका विद्यार्थीका लागि शनिवार शैक्षिक मेला हुने

काठमाडौँ । काठमाडौँको उत्तरी भेगमा अवस्थित शैक्षिक संस्थाहरूको सहभागितामा ‘शिक्षा मेला–२०८२’ आयोजना हुने भएको छ। शैक्षिक विकास र विद्यार्थी- अभिभावकबिच प्रत्यक्ष संवादलाई लक्षित गर्दै मेला आगामी शनिवार, जेठ ३१ गते टोखामा सञ्चालन हुनेछ।

उच्च माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्घ (एनप्याब्सन) को आयोजनामा तथा स्काई भिजन, अल्फा र जिएलसी फाउन्डेसनको संयोजनमा मेला हुन लागेको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाहरूले मेलाको बारेमा जानकारी दिएका हुन्। मेलामा काठमाडौँको उत्तरी भेगमा सञ्चालित शैक्षिक संस्थाहरूले भर्ना प्रक्रिया, कोर्स संरचना, पठनपाठन विधि, छात्रवृत्तिबारे विस्तृत जानकारी दिनेछन्।

कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। मेलामा चार वटा मुख्य विधा — Information, Motivation, Career Counselling र Entertainment समावेश गरिने आयोजकले जनाएका छन्।

मेलामा १७ भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता रहनेछ भने ४ हजारभन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित हुने अपेक्षा गरिएको छ।

हिसान टोखाका अध्यक्ष राजन अधिकारीले उत्तरी क्षेत्रका शैक्षिक संस्थाहरूले विद्यार्थीलाई आवश्यक भौतिक सुविधा र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए। उनले मेलामार्फत शैक्षिक संस्थाहरूबिच स्वस्थ प्रतिस्पर्धा हुने र त्यसले अझ प्रभावकारी शैक्षिक वातावरण निर्माणमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

मेलालाई टोखा नगरपालिका, हिसान र प्याब्सनको संयुक्त समन्वयमा सञ्चालन गरिने छ। आयोजकहरूले सबै अभिभावक र विद्यार्थीलाई मेला अवलोकन गरी भविष्यका शैक्षिक योजना निर्माणमा सहयोग लिन आह्वान गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज