काठमाडौं । भिजिट भिसामा राजनीतिक दल सहमति गर्दै छनु । तर, यही विषयमा अख्तियार र प्रहरीले निपक्ष अनुसन्धान गर्न पाउँछन कि पाउँदैनन् भन्ने विषयमा प्रश्न उठेको छ ।
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रूपमा हुँदै आएको मानव तस्करी र ठगीको अब नेपाल प्रहरीले पनि अनुसन्धान गर्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यो प्रकरणको छानबिन थाल्ने भएको हो ।
विमानस्थलका केही कर्मचारीले अधिकारको दुरुपयोग गर्दै मानव तस्करीमा संलग्न गिरोहसँग मिलेमतो गरेको प्रमाण भेटिएपछि अख्तियारले नेपाल प्रहरीको प्रधान कार्यालयमा औपचारिक पत्र पठाएको थियो । त्यसको आधारमा उक्त पत्र उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पठाइएको हो ।
गत जेठ ७ गते अख्तियारले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसहित कविता पौडेल, बालकृष्ण खड्का र भरत सुवेदीलाई पक्राउ गरेको थियो । प्रारम्भिक सोधपुछपछि तिनलाई तारेखमा छाडिए पनि अनुसन्धान भने जारी छ । उनीहरूको मोबाइल फरेन्सिक परीक्षणपछि मानव तस्करीको जालो निकै संगठित र गम्भीर देखिएपछि अख्तियारले प्रहरीसमेतको अनुसन्धान आवश्यक ठानेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले अख्तियारबाट अनुसन्धान गर्न पत्र आएको हुनसक्ने प्रतिक्रिया दिएका छन् । ‘यदि हामीकहाँ पत्र आएको हो भने त्यसअनुसार प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘कहिलेकाहीँ पत्र सम्बन्धित युनिटमै आउने हुँदा मलाई जानकारी नहुन सक्छ ।’
फरेन्सिक विश्लेषणपछि भट्टराईसहित पक्राउ परेकाहरू मानव तस्करीको गिरोहमा संलग्न रहेको पुष्टि भएको अख्तियारको भनाइ छ । त्यसैले आयोगले अब प्रहरीको संलग्नता आवश्यक ठानी छानबिनका लागि पत्राचार गरेको हो । एक प्रहरी स्रोतका अनुसार आयोगको अधिकार दुरुपयोगसम्बन्धी छानबिन सीमित हुने भएकाले गम्भीर आपराधिक पक्षको अनुसन्धान प्रहरीबाट हुनुपर्ने माग उठेको हो ।
विमानस्थलबाट भिजिट भिसाको नाममा दैनिक ठूलो संख्यामा मानिसहरू वैदेशिक गन्तव्यतर्फ पठाइने गरेको पाइएको छ । अघिल्लो वर्ष मंसिरमा पनि अपराध अनुसन्धान कार्यालयको टोलीले अध्यागमन अधिकृत नरवीर खड्कालाई घुस लिँदालिँदै पक्राउ गरेको थियो । सो क्रममा दुबईतर्फ मात्रै दैनिक करिब २५० जनाको अवैध रूपमा तस्करी हुने र त्यसबाट विमानस्थलका कर्मचारीले झन्डै ३५ लाख रुपैयाँ असुल्ने गरेको पत्ता लागेको थियो ।
हालै अख्तियारको अनुसन्धानबाट दैनिक ३०० जनासम्मलाई भिजिट भिसाको नाममा वैदेशिक गन्तव्यतर्फ पठाउने क्रम बढेको पाइएको छ । उनीहरूबाट प्रतिव्यक्ति १५ हजार रूपैयाँका दरले दैनिक ५० लाख रुपैयाँसम्म असुली भइरहेको विवरण फेला परेको छ ।
यसअघि मानव बेचबिखन अनुसन्धान ब्युरोले दुईपटक विमानस्थलमा टोली खटाएको थियो । तर, अध्यागमनका कर्मचारीहरूको विरोधपछि ती टोलीहरू फिर्ता गरिएका थिए ।
मानव तस्करीको यो क्रम फेरि सक्रिय बन्दै गएपछि अख्तियारले न मात्र पुनः अनुसन्धान सुरु गरेको छ, बरु पीडितहरूले उजुरी दिएपछि प्रहरीले समेत आफ्नो तहबाट छानबिन गर्ने तयारी थालेको हो । यसरी अख्तियार र प्रहरी दुवै निकायबाट संयुक्त रूपमा हुने अनुसन्धानले त्रिभुवन विमानस्थलमा विगतदेखि चल्दै आएको संगठित मानव तस्करीको जालो भत्काउने अपेक्षा गरिएको छ ।