तीनकुने राजावादी आन्दोलन: दुर्गा प्रसाईंसहित ७ जना पुर्पक्ष थुनामा, ३२ जना धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत्र १५ गते भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित ७ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश गरेको छ । तीनकुने घटनाबारे थुनछेक बहस पुरा भएसँगै बिहीबार राति काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीले सो आदेश गरेका हुन् ।

साँझ ५ बजे नै थुनछेक बहस सकिए पनि राति झण्डै सवा १२ बजेमात्रै अदालतबाट प्रसाईंसहित ७ जना प्रतिवादीलाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो ।

सरकारी वकिलले २०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँ सहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।अदालतले थुनामा पठाउन आदेश गरेका प्रतिवादीहरुमा दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।

त्यसैगरी अदालतले दुर्गा प्रसाईँ समर्थक युवा समूह एटिएफमा आबद्ध हरिहर चौलागाईं लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरिएको छ । सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १ लाख र हेमराज थारु ‘भिम’ र विष्णुजंग बस्नेतसँग १ लाख, लाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

अदालतले प्रेध बहादुर श्रेष्ठलाई ५० हजार, पुष्कर खतिवडा २० हजार, गोपाल मल्ल ठकुरीलाई २० हजार, पशुपति खड्कालाई १० हजार, विष्णु पराजुली १० हजार, मुनेन्द्र राजभण्डारी १० हजार, कुमार बस्नेत २० हजार, अनिल कुमार थापा १० हजार, तारानाथ बोहरा १० हजार, दान बहादुर न्यौपाने १० हजार र उमेश तामाङलाई १० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

त्यसैगरी अदालतले अमित शाहसँग ५० हजार, जितबहादुर श्रेष्ठसँग ५० हजार, निराजन कुमार गिरीसँग ५० हजार, भानुभक्त पौडेलसँग १० हजार, देवी प्रसाद सङ्ग्रौलासँग १० हजार, प्रेम थापा मगरसँग १० हजार, ओम प्रकाश लुइँटेलसँग १० हजार, तेजेन्द्र रायमाझीसँग १० हजार, मनबहादुर कालासँग २० हजार धरौटी लिएर रिहा गर्न आदेश दिएको छ ।

अदालतले दिनेश खड्कालाई ५० हजार, कमलकुमार विष्टलाई २० हजार, लोकबहादुर बस्नेतलाई २० हजार, रमेश राईलाई २० हजार, दिवश बोगटी क्षेत्रीलाई १० हजार, दिलकुमार श्रेष्ठलाई १० हजार धरौटीमा छाड्न आदेश गरिएको छ । त्यसैगरी अदालतले सुमन कार्की १० हजार र मनोज कुमार सापकोटासँग १० हजार धरौटी लिन आदेश गरेको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज