काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भिजिट भिसा प्रकरणको छानबिन तथा अध्ययन गर्न संसदीय समिति गठन गर्ने विषयमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) सहमत भएका छन्।
यो सहमतिलाई अन्तिम रुप दिए आज शुक्रबारदेखि नै संसद बैठक खुलाउन राजनीतिक दल तयार भएका छन् । यद्यपी सहमितपत्रमा हस्ताक्षर भने हुन बाँकी छ ।
संघीय संसद् नयाँ बानेश्वरमा सत्तापक्ष र विपक्षी दलहरूबीच भएका विभिन्न चरणका छलफलपछि छानबिन समिति गठन गर्ने सहमति जुटेको नेताहरूले जनाएका छन्।
जेठ १३ गतेदेखि विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग गर्दै आएका थिए। तर, सत्तारूढ दलहरूले भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको जनाउँदै छुट्टै समिति आवश्यक नरहेको अडान लिएका थिए।
तर, संसद्मा बजेटमाथिको छलफलसमेत प्रभावित भएपछि सत्ता गठबन्धनका दलहरू अन्ततः छानबिन समिति गठन गर्न तयार भएका हुन्।
बहुपक्षीय छलफलमा सहभागी कांग्रेस नेताहरू ज्ञानेन्द्रबहादुर कार्की र श्यामकुमार घिमिरे, एमालेका महेश बर्तौला, माओवादी केन्द्रका वर्षमान पुन र हितराज पाण्डेले सबै दलहरू छानबिन समिति बनाउने विषयमा सहमत भएको जानकारी दिएका छन्।
हाल समितिको रूपरेखा र सहमतिपत्रको भाषा निर्धारणबारे थप छलफल भइरहेको छ। विपक्षी दलहरूले लिखित प्रतिबद्धता माग गरेका छन्, जसका आधारमा संसद् अवरोध हटाउने तयारी गरिएको हो।
बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकअघि प्रमुख दलहरूबीच सहमति जुटाउन प्रयास भइरहेका छन्।
प्रतिनिधिसभा भवनमा भएको पछिल्लो छलफलमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, एमाले सचिव योगेश भट्टराई, रास्वपाका विराजभक्त श्रेष्ठ, डीपी अर्याल, सन्तोष परियारलगायत नेताहरू सहभागी थिए।
छलफलको निष्कर्षस्वरूप, सत्तारूढ दलहरूले भिजिट भिसा प्रकरणको संसदीय छानबिन गर्न लिखित रूपमा प्रतिबद्धता जनाउने तयारी गरेका छन्, जसपछि प्रतिनिधिसभाको नियमित प्रक्रिया सुचारु हुने अपेक्षा गरिएको छ।