काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेशसभा सदस्य सरोज सिंह कुशवाहा भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुशवाहालाई बिहीबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो ।
सांसद कुशवाहाविरुद्ध उपभोक्ता समितिहरूको नाममा आएको रकम आफ्ना निजी स्वकीय सचिवमार्फत् झिकाएर आफ्नो र पत्नीको बैंक खातामा जम्मा गराएको आरोप लागेको छ। यसअघि अख्तियारले जेठ १२ गते उनको घरमा छापा मारेको थियो। सो छापाका क्रममा उनका ६५ वर्षीय निजी सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरिएको थियो।
अनुसन्धानको क्रममा सांसद कुशवाहाले विभिन्न उपभोक्ता समितिहरू गठन गरेर सरकारी अनुदानको रकम हिनामिना गरेको र उक्त रकम सचिवमार्फत् झिकाएर निजी हितमा प्रयोग गरेको प्रमाण भेटिएको अख्तियार स्रोतले जनाएको छ।
सिंह महोत्तरी क्षेत्र नं. ४ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्। उनीविरुद्ध थप अनुसन्धान अघि बढाइएको अख्तियारले जानकारी दिएको छ।