मधेश प्रदेशका एमाले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका एमाले सांसद दिपेन्द्र कुमार ठाकुरविरुद्ध १५ शैयाको अस्पताल निर्माण प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

धनुषा क्षेत्र नं. ३(ख) बाट निर्वाचित सांसद ठाकुरसहित १५ जनामाथि अख्तियारले ठेक्कापट्टामा अनियमितता गरेको भन्दै ६ करोड ७९ लाख रुपैयाँ बिगो माग गर्दै मुद्दा चलाएको हो।

मुद्दामा भनिएको छ कि धनुषाको औरही गाउँपालिकाले २४ करोड ४३ लाख रुपैयाँ लागतमा १५ शैयाको अस्पताल निर्माण गर्न लागत अनुमान तयार गरेको थियो। तर, १२ करोड ३५ लाख रुपैयाँको प्रस्ताव दिने कम्पनीलाई छान्नु पर्ने अवस्थामा १९ करोड १४ लाख रुपैयाँ प्रस्ताव दिने अन्य कम्पनीलाई ठेक्का दिइएपछि भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

अख्तियारले उक्त गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रम्हदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत वडाध्यक्षहरू र इञ्जिनियरहरू सहित ठेक्का प्रक्रियामा संलग्न अन्य व्यक्तिहरूलाई पनि मुद्दा चलाएको छ।

सांसद ठाकुर ठेकेदारको रुपमा उक्त ठेक्का प्रक्रियामा सक्रिय रहेका थिए। यस मुद्दामा अनुसन्धान र कारबाही प्रक्रिया जारी रहेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज