काठमाडौँ। सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीश पद पूर्तिका लागि आज बस्ने न्याय परिषद्को बैठक निर्णायक हुने देखिएको छ। प्रधानन्यायाधीश तथा न्याय परिषद् अध्यक्ष प्रकाशमान सिंह राउतले बैठक आह्वान गरेसँगै चारै जनाको नाम टुङ्ग्याउने तयारी गरिएको स्रोतले जनाएको छ।
चारमध्ये दुई जना उच्च अदालतका मुख्य न्यायाधीशलाई बढुवा गर्ने र बाँकी दुईजना कानुन व्यवसायीमार्फत नियुक्त गर्ने प्रस्ताव रहेको छ। उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र दिपायलकी मुख्य न्यायाधीश शान्तिसिंह थापालाई बढुवा गर्ने सहमति भइसकेको छ। स्रोतका अनुसार यी नाममा सत्तारूढ दलबिच विवाद नरहेकोले सिफारिसका सम्भावना बलियो देखिन्छ।
कानुन व्यवसायीको कोटाबाट भने एक जना एमाले र एक जना काँग्रेस निकटबाट सिफारिस गरिने तयारी छ। एमालेतर्फ अधिवक्ता ईश्वरी भट्टराईको नाम लगभग पक्का भएको बताइएको छ भने काङ्ग्रेसतर्फ वरिष्ठ अधिवक्ता आशिष् अधिकारी र अरुण पौडेलबिच प्रतिस्पर्धा छ।
अधिकारी पार्टी सभापति शेरबहादुर देउवाको समर्थनमा छन् भने पौडेल उपसभापति पूर्णबहादुर खड्काको निकट मानिन्छन्। पौडेलको प्रधानन्यायाधीश राउतसँग निकट सम्बन्ध रहेकोले उनको सम्भावना पनि बलियो मानिएको छ।
यदि अरुण पौडेल सर्वोच्च अदालतमा नियुक्त भए भने उनी सबैभन्दा कान्छा न्यायाधीश हुनेछन् र २०९२ सालसम्म सेवा गर्न पाउनेछन्। यसले उनलाई भविष्यमा प्रधानन्यायाधीश बन्ने सम्भावित रोल क्रममा पनि पुर्याउनेछ।