पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध ‘गैरकानुनी शरीर तलासी र बेइज्जती’को मुद्दा दर्ता

विराटनगर । राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा ‘गैरकानुनी शरीर तलासी तथा बेइज्जती’ सम्बन्धी मुद्दा दर्ता भएको छ। इटहरीकी एक महिलाले पूर्वमन्त्रीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेकी हुन्।

पीडित महिलाका अनुसार सुनसरीको इटहरी निवासी रामकुमार सुब्बा, गोपाल शाह र सुनिता घिमिरेले उनको लिङ्ग पहिचान गर्ने बहानामा जबरजस्ती शरीर तलासी गरी बेइज्जती गरेका हुन्। उनले दायर गरेको जाहेरीमा आफूलाई मानसिक र शारीरिक रूपले दुःख दिइएको उल्लेख छ।

जाहेरीमा उल्लेखअनुसार, श्रीमान् र ससुराबाट यातना पाएपछि सम्बन्धविच्छेद र अंश मागको मुद्दा दायर गरेर माइतीघर मोरङको डायनियाँमा बस्दै आएकी ती महिलाले गत चैत २२ गते सुब्बा, शाह र घिमिरेले माइतीमै आएर दुर्व्यवहार गरेको बताएकी छन्।

पूर्वमन्त्री सुब्बाले आफू इटहरीको नेता तथा मन्त्री रहेको भन्दै मुद्दा फिर्ता लिन दबाब दिएको आरोप जाहेरीमा छ। साथै, सुब्बाले पीडित महिलाको लिङ्ग पहिचान गर्न आफूले ‘आफ्नै महिला कर्मचारी’ ल्याएको भन्दै जबरजस्ती प्रमाणित गर्न दबाब दिएको र त्यसक्रममा घिमिरेले महिलाको गोप्य अङ्गहरू जबरजस्ती हेरेको उल्लेख गरिएको छ।

मुद्दामा आरोप लागेअनुसार, पीडित महिलालाई ‘हिजडा’ भन्ने, महिलाको स्वरूप नरहेको भन्ने जस्ता अभिव्यक्ति दिँदै सार्वजनिक रूपमा बेइज्जती गर्ने धम्की समेत दिइएको थियो।

जाहेरीमा ती महिलाले व्यक्तिगत गोपनीयताको हनन्, गालीबेइज्जती र अपमानसहित अंश पाउने आफ्नो कानुनी हक कुण्ठित गर्ने प्रयास भएको भन्दै दोषीहरूमाथि कानुनी कारबाही र क्षतिपूर्तिको माग गरेकी छन्।

सम्बन्धित समाचार

ताजा न्यूज