संसद् पुनः अवरुद्ध: भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग कायमै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक पनि विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित विपक्षी दलहरूले निरन्तर संसद् अवरुद्ध गरिरहेका छन्।

सभामुख देवराज घिमिरेको पहलमा सत्ता र विपक्षी दलबीच संवाद जारी भए पनि सहमति जुट्न सकेको छैन। आजको बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ।

सत्तापक्षले पेश गरेको ‘मध्यमार्गी प्रस्ताव’मा नेकपा माओवादी केन्द्रले समर्थन जनाएको छ भने कांग्रेस पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत् छानबिन अघि बढिरहेको जनाउँदै संसद्ले फरक छानबिन समिति नबनाउने अडानमा अडिएको छ।

यसबीच कांग्रेस सांसद पूर्णबहादुर खड्का र प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग आजै भेटवार्ता गरेका थिए। तर, छानबिन समितिको मागमा टस न मस नभएको रास्वपा संसद् अवरोध हटाउने अवस्थामा छैन।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार, “छानबिन समिति वा संयन्त्र भन्ने विषयमा छलफल चलिरहेको छ। तर, सत्तापक्षमै पूर्ण प्रतिबद्धता नआउँदा आजको बैठक पनि अनिश्चित बन्यो।”

जेठ १३ गतेदेखि प्रतिनिधिसभामा भिजिट भिसा प्रकरण उठाइएको छ। जेठ १५ गतेको बजेट भाषणबाहेक अन्य दिन बैठक चल्न सकेको छैन। यसबीच ११ पटकसम्म संसद् सूचना टाँसी स्थगित गरिएको छ।

सभामुख घिमिरेले संसद् सञ्चालनमा सहमति जुटाउन आवश्यक सबै पहल भइरहेको जानकारी सदनलाई गराएका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज