अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपाली काठमाडौं आउँदै, यस्तो छ अहिलेसम्मको डिपोर्टको तथ्यांक

काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपाली नागरिकहरूको अर्को समूह आज काठमाडौं आइपुग्ने तयारीमा छ। अमेरिकी सरकारले विशेष चार्टर्ड विमानमार्फत् उनीहरूलाई नेपाल फर्काइरहेको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयका अनुसार उक्त विमान आज आइतबार दिउँसो ४:१५ बजे काठमाडौं अवतरण गर्नेछ। अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरूको यथार्थ संख्या खुल्न बाँकी भए पनि कम्तीमा ४० जना नेपाली रहेको अनुमान गरिएको छ।

विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता तथा वरिष्ठ अधिकृत अञ्जन न्यौपानेले अमेरिकाबाट नेपाली डिपोर्ट गरिएको पुष्टि गर्दै भने, “हामीलाई १०–१२ दिनअघि डिपोर्ट सम्बन्धी जानकारी आएको थियो, तर त्यसमा संख्या स्पष्ट गरिएको थिएन। विमान अवतरणपछि मात्रै यकिन संख्या थाहा हुनेछ।”

सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी भए पनि केही व्यक्तिहरू रोकिएकाले अन्तिम संख्यामा घटबढ हुन सक्ने बताइएको छ। अमेरिकी चार्टर्ड विमानले विभिन्न देशका डिपोर्ट गरिएका नागरिकहरूलाई विभिन्न गन्तव्यमा छोड्दै काठमाडौं आइपुग्ने तालिका रहेको छ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आएपछि आप्रवासीमाथिको कडाइ थपिएको छ। भिसाको म्याद सकिएर पनि बस्ने, अवैध रूपमा प्रवेश गर्ने, वा अनुशासन उल्लंघन गर्ने व्यक्तिहरूलाई पक्राउ गरी आ–आफ्नो देश फर्काउने नीति लागू गरिएको छ।

प्रवक्ता न्यौपानेका अनुसार आज आउन लागेका नेपालीहरूलाई डिपोर्ट गरिनुको कारणको विवरण अस्पष्ट छ। “पत्रमा उनीहरूले अमेरिका इमिग्रेशन कानुन उल्लंघन गरेको लेखिएको छ, तर अवैध प्रवेश, ओभर स्टे वा अन्य कारण भन्ने खुलाइएको छैन,” उनले बताए।

अध्यागमन स्रोतका अनुसार, डिपोर्ट गरिएका धेरै नेपालीहरूले दलालमार्फत अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। नेपाल फर्काइएका नागरिकलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेपछि उनीहरूलाई घर पठाउने गरिन्छ। दलालविरुद्ध उजुरी परेमा मात्रै अनुसन्धान प्रक्रिया अघि बढाइने प्रचलन छ।

विगतमा डिपोर्ट भएका नेपालीको अवस्था:
सन् २०२५ को जनवरीदेखि मे महिनासम्म १४० जना नेपाली अमेरिकाबाट डिपोर्ट गरिएका छन्:

जनवरी: ६ जना

फेब्रुअरी: २० जना

मार्च: ३० जना

अप्रिल: २६ जना

मे: ५८ जना

अघिल्ला वर्षहरूको डिपोर्ट तथ्यांक:

सन् २०२१: ३५ जना

सन् २०२२: २२ जना

सन् २०२३: २४ जना

सन् २०२४: ५२ जना

 

सम्बन्धित समाचार

ताजा न्यूज