राइड सेयरिङ नियमावली स्थगित गर्ने गण्डकी सरकारको निर्णय, भोलिबाट सार्वजनिक यातायात नियमित सञ्चालन

काठमाडौं । राइड सेयरिङ नियमावली स्थगित गर्ने गण्डकी सरकारको निर्णयसगँ सार्वजनिक यातायातले बन्द फिर्ता लिएर नियमित सञ्चालनको निर्णय गरेको छन् । अब भोलिबाटै नियमित रुपमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ ।

गण्डकी प्रदेशको निर्णय प्राप्त भएकाले अहिले बेलुकैबाट गाडी चलाउने गरी आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी महासंघका महासचिव भरत नेपालले बताए ।

उनले भने, ‘गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गरेको खबर औपचारिकरूपमा पायौं । अहिलेलाई हामीले आन्दोलन फिर्ता लिएका छौं । अहिले त फाटफुट चल्ला । भोलि बिहानदेखि गाडीहरू निर्वाध चलाउँछौं ।’

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

मंगलबार साँझ गण्डकी सरकारले उक्त नियमावली एक महिनाका लागि स्थगित गरेपछि भने यातायात व्यवसायीले पनि आफ्नो प्रदर्शन फिर्ता लिने निर्णय गरेका हुन् ।

यससँगै भोलिदेखि निर्वाधरुपमा सवारी सञ्चालन हुनेछन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ मुख्यमन्त्री र मन्त्रीहरुको छलफलपछि एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गरेको हो । व्यवसायीलाई वार्ता आउनका लागि एक महिनाको समय राखिएको सरकारका प्रवक्ता आर्थिक मामिला मन्त्री टकराज गुरुङले जानकारी दिए ।

‘व्यवसायीसंगको छलफलका लागि एक महिना स्थगित गरेका हौं’, उनले भने, ‘एक महिनापछि नियमावली लागू हुन्छ खारेज हुदैन ।’

आन्दोलनरत यातायात व्यवसायी र सरकारबिच गएराति भएको वार्तामा संघीय कानूनहरु तर्जुमाको क्रममा रहेकोले सो कार्यान्वयनमा नआउँदासम्म प्रदेशका राईड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्ने गरी सहमति भएको थियो ।

उक्त सहमतिअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले स्थगन गर्न पत्राचार गरेअनुसार गण्डकी प्रदेश सरकारले नियमावली स्थगित गरेको हो ।

गण्डकी प्रदेशले गत बैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेको थियो । त्यसको विरोध जनाउँदै यातायात व्यवसायीले शुक्रबारदेखि नै सार्वजनिक यातायात ठप्प पारेका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज