काठमाडौँ । कुलिङ पिरियडमा कर्मचारीको असन्तुष्टिकैबीच संसदमा निजामति कर्मचारी विधेयक पेश हुने भएको छ । अवकास लगत्तै नियुक्ति खाने व्यवस्थामा अवारोध गर्न खोजिएको भन्दै उच्चपदस्थ कर्मचारी नै यो विधेयकले गरेको व्यवस्थाप्रति असन्तुष्ट छन् ।
संघीय संसद् सचिवालयले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मंगलबारको प्रतिनिधिसभा बैठकमा पेस गर्ने तयारी गरेको छ।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । सभा नचलेपछि पछि विधेयक पेस गर्ने कार्यसूची संघीय संसद् सचिवालयले परिवर्तन गरेको थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतिले पारित गरेको विधेयक मंगलबारको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची तय भइसकेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
‘समितिबाट सर्वसम्मतिले पारित भएको निजामती कर्मचारी सम्बन्धी विधेयक मंगलबारको बैठकमा पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । विपक्षी दलहरूले सदन चल्न नदिने बताइरहेका छन् । चल्छ कि चल्दैन थाहा छैन । चलेमा पेस हुन्छ,’ सभापति खतिवडाले भने ।
विपक्षी दलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको भिजिट मिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनु पर्ने माग गर्दै आएका छन् ।
विधेयकमा अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको थियो । यी दुई विषयमा विवाद रहँदै आएको थियो ।
अहिले पनि निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन् । मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले हुल बाँधेरै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर सच्याउन माग गरेका थिए ।