काठमाडौं । बहुचर्चित राजपुर बमकाण्डका अभियुक्त तथा नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम उच्च अदालत वीरगञ्जबाट निर्दोष ठहरिएपछि मुद्दाबाट मुक्त भएका छन्।
आलमलाई रौतहट जिल्ला अदालतले विगतमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। तर, उच्च अदालत वीरगञ्जको इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।
२०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विष्फोटपछि घाइते भएका व्यक्तिहरूलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा आलम १२ वर्षपछि पक्राउ परेका थिए। रौतहट क्षेत्र नं. २ बाट निर्वाचित तत्कालीन सांसद आलमलाई २०७६ साल असोज १९ गते प्रहरीले पक्राउ गरेको थियो।
उनविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी गरी तीन वटा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि थुनामा राख्दै २०७६ साल कात्तिक २९ मा मुद्दा अगाडि बढाएको थियो।
बम विस्फोटको घटनामा त्रिलोकप्रताप सिंह, ओसी अख्तरलगायत केही व्यक्तिहरूको मृत्यु भएको आरोप थियो। प्रत्यक्षदर्शीहरूले घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाइएको दाबी गरेका थिए। तर, प्रारम्भिक समयमा प्रहरीले घटनास्थलमा बम विस्फोट नै नभएको भनेर मुचुल्का बनाएको थियो। सरकारी वकिलको कार्यालयहरू समेतले मुद्दा नचलाउने राय दिएका थिए।
मानव अधिकार आयोगलगायत निकायहरूले घटनामा गम्भीर मानव अधिकार उल्लंघन भएको ठहर गरेका थिए। तर, तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले “मृत्यु भएको भन्ने पुष्टि नभएको” भन्दै मुद्दा नचलाउने निर्णय गरेका थिए।
पीडित परिवारले न्याय नपाएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। न्यायाधीश सुशीला कार्की र डा. भरतबहादुर कार्कीको संयुक्त इजलासले प्रमाण भेटिएको अवस्थामा महान्यायाधिवक्ताले मनपरी गर्न नहुने फैसला सुनाउँदै अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको थियो।
यस मुद्दामा सरकारको तर्फबाट सरकारी वकिल दयानिधि रिजाल, बद्री कार्की र पुष्पराज पौडेलले बहस गरेका थिए। आलमको पक्षबाट मुद्दाको नेतृत्व अधिवक्ता सरोज घिमिरेले गरेका थिए भने अधिवक्ता सुधीर कर्ण, रामेश्वर सेढाईं, संजीव मलिक, साबिर हुसेन, रामेश्वर न्यौपानेसहित ९ जना कानुन व्यवसायीले बचाउ पक्षबाट बहस गरेका थिए।
तीन दिनसम्म चलेको बहसपछि उच्च अदालतको इजलासले अन्ततः आलमलाई दोषमुक्त ठहर गरेको हो। बमकाण्डमा मारिएको भनिएकी ओसी अख्तरकी आमा रुक्सनाको २०६७ साल माघ ८ गते गोली हानी हत्या गरिएको थियो। तर, उक्त घटनाको अनुसन्धान हालसम्म अघि बढ्न सकेको छैन।