सामान्य चोटमा ‘मेजर सर्जरी’को सल्लाह, ओम अस्पताल र डाक्टरविरुद्ध मेडिकल काउन्सिलमा उजुरी

काठमाडौं। हामी अस्पताल जान्छौं, निको हुने आशामा। तर, अस्पतालमै उपचारको नाममा लुट्ने प्रयास भयो भने के गर्ने? यो आक्रोश हो एक अभिभावकको जसले आफ्नी १२ वर्षीया छोरीलाई सामान्य चोटको उपचारका लागि काठमाडौंको नाम चलेको ओम अस्पताल एन्ड रिसर्च सेन्टरमा लगेका थिए। तर, त्यहाँ ‘मेजर सर्जरी’को सल्लाह पाएपछि उनी चिकित्सकको नियतमाथि नै शंका गर्न बाध्य भए।

देब्रे हातको कान्छी औंलामा खेल्दाखेल्दै लागेको सामान्य चोटका कारण अस्पताल पुर्याइएकी बालिका आँचल लुइटेलको मेजर शल्यक्रिया गर्न सल्लाह दिने डाक्टर र ओम अस्पतालविरुद्ध ती अभिभावकले नेपाल मेडिकल काउन्सिलमा औपचारिक उजुरी दिएका छन्।

बास्केटबल खेल्ने क्रममा देव्रे हातको कान्छी औंलामा चोट लागेपछि बुबा राजेश लुइटेलले १२ वर्षीया छोरीलाई उपचारका लागि ओम अस्पताल लगेका थिए। अस्पतालमा जुनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन डा. सुसन वैद्य (एनएमसी नं. ८०४९) ले एक्स–रे तथा अन्य परीक्षण गरेपछि औंलाको हड्डी फुटेको दाबी गर्दै ‘मेजर सर्जरी’ गर्नुपर्ने बताएका थिए।

उनले शल्यक्रियाका लागि ७० हजार रुपैयाँ लाग्ने र त्यसपछि पनि औंला पूर्णरूपमा अहिलेकै जस्तो नहुन सक्ने बताएका थिए। “यदि अपरेशन सफल नभए दोहोर्‍याउनुपर्ने अवस्था आउन सक्छ” भनेपछि अभिभावक झस्किए। अप्रेशनपछि पनि औंला अहिलेकै जस्तो नहुन सक्छ भनेपछि मलाई अन्य डाक्टरसँग पनि बुझ्न मन लाग्यो, बालिकाका बुबा राजेश लुइटेल भन्छन्।

त्यसपछि बालिकाको एक्स–रे रिपोर्ट र अवस्थाबारे अभिभावकले चारजना वरिष्ठ अर्थोपेडिक विशेषज्ञहरूसँग परामर्श लिए। नेशनल ट्रमा सेन्टरका प्रा. डा. बद्री रिजाल, डा. रुद्र मरासिनी, दीर्घायु गुरु अस्पतालका डा. प्रफुल्ल, र नर्भिक अस्पतालका डा. लक्ष्मण रिजाल सबैले एउटै निष्कर्ष दिए हड्डी फुटेको छैन, लिगामेन्ट मात्र च्यातिएको हो। सामान्य ब्यान्डेज र विश्रामले यो निको हुन्छ, अपरेशनको कुनै आवश्यकता छैन।

मेजर अप्रेशन गर्नु पर्ने भनिएको औलामा बरिष्ठ डाक्टरको सल्लाह पछि गरिएको व्याण्डेज

वरिष्ठ चिकित्सकहरूको एउटै निष्कर्षले ओम अस्पतालको प्रारम्भिक उपचारमाथि नै गम्भीर प्रश्न उठाएको लुइटेल बताउँछन्। उपचारका लागि अस्पताल जाने बिरामीले डाक्टरको सल्लाहमाथि विश्वास गर्छ। तर सामान्य चोटलाई गम्भीर बनाएर अपरेशनको सल्लाह दिइएको देख्दा झस्किनुपर्ने अवस्था भयो, उनी भन्छन्, यति ठूलो अस्पतालमा यस्तो भएपछि हामीले विश्वास गर्ने आधार के हो?

यसबारे बुझ्न सम्पर्क गर्दा डा. वैद्यले आफूले एक्स–रेमा देखिएको आधारमा अपरेशनको सल्लाह दिएको बताए। तर, त्यही रिपोर्ट हेरेर वरिष्ठ डाक्टरहरूले लिगामेन्ट च्यातिएको मात्रै भनेका थिए।

हड्डी पनि फुटेको छैन रे, सामान्य उपचारले ठिक हुने बिरामीलाई तपाईंले किन मेजर अपरेशन गर्नुपर्छ भन्नुभयो?” भन्ने प्रश्नमा डा. वैद्यले भने, वरिष्ठ डाक्टरहरूले के भने मलाई थाहा भएन। मैले एक्स–रेमा देखिएको कुरा हेरेर उहाँहरूलाई अपरेशनका लागि भनेको हुँ। उनले अपरेशनका लागि ७० हजार रुपैयाँ लाग्ने भनेको स्वीकार गरे।

यस विषयमा ओम अस्पतालका प्रशासन प्रमुख विपिन जंगमसँग सम्पर्क गर्दा उनले “बाहिरका डाक्टरले के भन्छन्, त्यता नजानु” भन्दै पन्छिएका थिए। अभिभावकले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने चेतावनी दिएपछि प्रशासन प्रमुख जंगमले फोन काटिदिए। त्यसपछि पनि पटक–पटक सम्पर्क प्रयास गर्दा उनले फोन उठाएनन्।

सामान्य चोटमा ‘मेजर सर्जरी’को सल्लाह दिनु चिकित्सा आचारसंहिताको गम्भीर उल्लंघन हो। नेपाल मेडिकल काउन्सिलका मापदण्डअनुसार, अनावश्यक परीक्षण वा सर्जरीको सिफारिस गरेर बिरामीमाथि आर्थिक भार थोपार्नु गैर पेशागत व्यवहारमा पर्छ।

यो घटनामा संलग्न चिकित्सक र अस्पताल प्रशासनमाथि छानबिन गरी कारबाहीको माग गर्दै अभिभावकले नेपाल मेडिकल काउन्सिलमा औपचारिक उजुरी दिइसकेका छन्। विरामीप्रति गैर–जिम्मेवार व्यवहारका यस्ता घटनाले चिकित्सामाथिको जनविश्वास घटाउँछ, लुइटेल भन्छन्, “यसबारे काउन्सिलले गम्भीर ध्यान दिनुपर्छ।

ओम अस्पतालका डाक्टर सुसन बैद्यले अप्रेशनका लागि लेखेको विबरण
नेशनल ट्रमा सेन्टरका डाक्टर रुद्र मरासिनीले परिक्षण पछि लेखेको विबरण

 

सम्बन्धित समाचार

ताजा न्यूज