बुटवलमा एकै परिवारका तीन सदस्यको विभत्स हत्या, पूर्वपति सुजन कोइराला पक्राउ

रुपन्देही । बुटवल उपमहानगरपालिका–११, मिलीजुली पथमा बुधबार बिहान एकै परिवारका तीन जनाको ज्यान जाने गरी भएको हत्याकाण्डले सनसनी फैलिएको छ। ३४ वर्षीया दीपा बस्याल र उनकी दुई छोरी ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया हिमानी बस्यालको आफ्नै पूर्वपतिद्वारा निर्मम हत्या भएको प्रहरीले पुष्टि गरेको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, दीपाका पूर्वपति ३५ वर्षीय सुजन कोइरालाले धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन्। घटनापछि सुजनलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ।

दीपा र सुजनबीच २०६९ सालमा विवाह भएको थियो। तर सोही वर्ष सुजन आफ्नै दाजु सुदीप कोइरालाको हत्यामा जेल परेपछि उनीहरूबीचको सम्बन्धमा दरार आयो। अन्ततः २०७२ सालमा दीपाले सुजनसँग सम्बन्धविच्छेद गरेकी थिइन्। त्यसपछि दीपाले पूर्वी नवलपरासीका शंकर ढकालसँग दोस्रो विवाह गरेकी थिइन्। उनका दुई छोरीहरू पनि ढकालसँगकै सन्तान हुन्। शंकर हाल वैदेशिक रोजगारीका लागि दुबईमा छन्।

पाल्पाको तानसेनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत दीपा मंगलबार एक आफन्तको विवाहमा सहभागी हुन बुटवल आएकी थिइन्। प्रहरीले प्रारम्भिक अनुसन्धानमा खुलाएको विवरण अनुसार मंगलबार राति उनी आफ्ना छोरीहरू सहित पूर्वपति सुजन कोइरालाको घरमै बसेकी थिइन्।

बुधबार बिहान करिब ४ बजे कोइरालाले धारिलो हतियार चक्कु र हतौडा प्रयोग गरी दीपासहित दुई छोरीको हत्या गरेका हुन्। बिहान करिब ६ बजे मात्रै घटना बाहिर आएको हो।

प्रहरीका अनुसार सुजन कोइराला विगतमा आफ्नै दाजु सुदीप कोइरालाको हत्याको अभियोगमा ८र९ वर्ष जेल बसेका थिए। उनी संविधान दिवसको अवसरमा राष्ट्रपतिको माफी पाएर केही समयअघि मात्र जेलमुक्त भएका थिए।

 

सम्बन्धित समाचार

ताजा न्यूज