काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक गृह मन्त्रालयसँग सम्बन्धित भिजिट भिसा प्रकरणका कारण विवादित बन्यो, जसका कारण बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरे।
माओवादी सांसद वर्षमान पुनले गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै मार्गप्रशस्त गर्न आग्रह गरे। उनले गृहमन्त्रीले मार्गप्रशस्त नगरेसम्म संसदको नियमित प्रक्रिया अघि नबढ्ने चेतावनी पनि दिए।
रास्वपा सांसद शिशिर खनालले गृहमन्त्रीको राजीनामासँगै स्वतन्त्र छानबिन आयोग गठन गर्नुपर्ने माग राखे।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए। रास्वपाका सांसदहरूले ‘गृहमन्त्री राजीनामा दे’, ‘छानबिन आयोग गठन गर’ भन्ने नारा लगाएका थिए। यद्यपि माओवादी सांसदहरू उठे पनि नाराबाजी भने गरेनन्।
विरोधका कारण सभामुखले बैठक आधा घन्टाका लागि स्थगित गरिएको घोषणा गरे।