भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराई १० दिनपछि अख्तियारमा उपस्थित हुने गरी ‘तारेख’मा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० दिनको म्याद दिएर फेरि आयोगमा उपस्थित हुन निर्देशन दिएको छ।

भट्टराईलाई जेठ ७ गते आयोगमा उपस्थित गराएर दुई दिनसम्म लगातार सोधपुछ गरिएको थियो। आयोग स्रोतका अनुसार डिजिटल फरेन्सिक ल्याब (DFL) को रिपोर्ट अझै प्राप्त नभएकाले थप अनुसन्धानका लागि उनलाई १० दिनपछि बोलाइएको हो।

भट्टराईसहित चार जनाको मोबाइल र ल्यापटप लगायतका डिजिटल सामग्री अख्तियारले नियन्त्रणमा लिएर परीक्षण गरिरहेको छ। तर, परीक्षण प्रतिवेदन आउन ढिलाइ भएका कारण उनीहरूको बयान र अन्य अनुसन्धान प्रक्रियामा ढिलाइ भइरहेको आयोग स्रोतले जानकारी दिएको छ।

यसअघि, पर्यटक भिसाको नाममा युएई र कुवेततर्फ गइरहेका महिला यात्रुहरूबाट त्रिभुवन विमानस्थलमा रहेका अध्यागमन कर्मचारी र बिचौलियाहरूले ‘कोडवर्ड’ प्रयोग गर्दै ठूला रकम असुल्दै आएको प्रमाणहरू अख्तियारले पाएको थियो। सोही सन्दर्भमा भट्टराईसहित अन्य अधिकारीहरूमाथि अनुसन्धान अघि बढाइएको हो।

यस प्रकरणमा अध्यागमन कार्यालयका अन्य कर्मचारी तथा बिचौलियाहरूको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ। अख्तियारले आवश्यक प्रमाण संकलन र डिजिटल डाटाको विश्लेषणपछि थप कारबाही अघि बढाउने तयारी गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज