माओवादी केन्द्रद्वारा गृहमन्त्री रमेश लेखकको राजीनामा माग

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको भूमिकालाई लिएर चर्किएको विवादको बीचमा नेकपा (माओवादी केन्द्र)ले उनीसँग राजीनामा माग गरेको छ।

सोमबार पार्टीको केन्द्रीय पदाधिकारी बैठक बसेको थियो, जसले गृहमन्त्री लेखकमाथि उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएको जनाएको छ। बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नी सापकोटाले निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गर्न मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए।

‘छानबिन प्रक्रिया सुरू भइसकेको छ। यस्तो अवस्थामा नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले स्वयं पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ,’ सापकोटाले भने।

उनका अनुसार छानबिनमा पहुँच, प्रभाव वा पदीय शक्तिको दुरुपयोग हुन नदिन राजीनामा आवश्यक छ।

सापकोटाले नेपाली कांग्रेस भित्रबाट पनि लेखकको राजीनामाको माग उठिरहेको दाबी गरे। ‘चौतर्फी रूपमा आवाज उठिरहेको छ। यस्तो संवेदनशील मुद्दामा निष्पक्ष छानबिनको मार्ग खुला गराउन राजीनामा नै उपयुक्त विकल्प हो भन्ने हाम्रो निष्कर्ष हो,’ उनले स्पष्ट पारे।

गृहमन्त्री लेखक नेतृत्वमा भएको भिजिट भिसा प्रक्रिया र त्यसमा देखिएको अव्यवस्थाबारे पछिल्लो समय सामाजिक सञ्जालदेखि संसदसम्म चर्को आलोचना हुँदै आएको छ। सोही सन्दर्भमा माओवादी केन्द्रको यो धारणा आएको हो।

सम्बन्धित समाचार

ताजा न्यूज