काठमाडौं । अध्यागमनमा देखिएको सेटिङ र कर्मचारीकै मिलेमतोमा भइरहेको भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ। गृह मन्त्रालयले भिजिट भिसा सेटिङ प्रकरणमा देखिएको अनियमितता र संलग्नताको विषयमा ‘शून्य सहनशीलता नीति अनुसार कानुनी प्रक्रिया अघि बढाउने बताएको छ।
गृह मन्त्रालयले मन्त्रालय अन्तर्गतका कार्यालय, निकाय तथा मातहतका कर्मचारीको संलग्नता भेटिएमा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता तथा सहसचिव छवि रिजालद्वारा जारी विज्ञप्तिमा मन्त्रालयले प्राप्त उजुरी, समाचार र प्रारम्भिक सूचनाका आधारमा छानबिन अघि बढेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालय सुशासन, पारदर्शिता तथा जवाफदेहितामा प्रतिबद्ध छ। कुनै पनि अवैध गतिविधिमा संलग्न कर्मचारी वा अधिकारीमाथि कानून बमोजिम कारबाही गरिनेछ।”
अध्यागमन कार्यालयमा देखिएको सेटिङ र अनियमिततासम्बन्धी अनुसन्धानका लागि अख्तियारको टोलीले पनि प्रारम्भिक अध्ययन थालेको छ। यस विषयमा संलग्न व्यक्तिहरूको भूमिका, सूचना आदानप्रदान र आन्तरिक सहकार्यका पक्षहरूबारे अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनमार्फत भिजिट भिसा सेटिङ गरिएको आशंकामा केही कर्मचारीहरू निलम्बनमा परिसकेका छन्। सो प्रकरणमा गृहमन्त्रीको सचिवालयसम्मको सम्पर्क देखिएको प्रारम्भिक रिपोर्टहरू सार्वजनिक भइसकेका छन्।
मन्त्रालयले भने अनुसन्धान पूरा नभएसम्म कुनै निष्कर्षमा नपुग्न आग्रह गर्दै सत्यतथ्य सार्वजनिक गरिने प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयले सार्वजनिक सेवा प्रवाहमा अनियमितता, भ्रष्टाचार वा पदको दुरुपयोग भएको पाइएमा कानुनी कार्यवाहीमा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेको छ।