आफन्तबाटै घेरबन्दीमा गृहमन्त्री रमेश लेखक, नैतिकता देखाउँदै राजीनामा देलान ?

काठमाडौं ।  भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि नेपाली कांग्रेसभित्र मत विभाजन देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराई र गृहमन्त्री लेखकको सचिवालयबीच नियमित सम्पर्क भएको प्रारम्भिक अनुसन्धानले देखाएपछि लेखकको भूमिकामाथि प्रश्न उठ्न थालेको हो।

गृहमन्त्रीको संलग्नता रहेको आशंकाबीच कांग्रेसको इतर समूहले उनीमाथि छानबिन हुनुपर्ने र आवश्यक परे राजीनामा दिनुपर्ने माग गरेका छन्। नेता डा। शेखर कोइरालाले सार्वजनिक रूपमा गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनको बाटो खोल्नुपर्ने बताएका छन्। उनले संसदमा गृहमन्त्री लेखकै विगतको अभिव्यक्तिको स्मरण गराउँदै, “मन्त्रीमाथि अनुसन्धान सुरु भए पदमा रहनु हुँदैन” भन्ने लेखककै भनाइ अब उनीमाथि लागू हुनुपर्ने बताएका छन्।

तर संस्थापन पक्षका नेताहरूले कोइरालाको भनाइको प्रतिवाद गरेका छन्। उनीहरूका अनुसार समाचारमा आएका विषयहरू पुष्टि नभएसम्म राजीनामा माग गर्नु हल्लाको भरमा निर्णय गर्नु सरह हो। प्रमुख सचेतक श्याम घिमिरेले कुनै पनि कर्मचारीको गल्तीको जिम्मेवारी मन्त्रीले लिने परिपाटी बसालिए हरेक दुई महिनामा मन्त्री फेरिनुपर्ने अवस्था आउने तर्क गरे।

प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पनि गृहमन्त्रीले नैतिकता नभएको प्रमाण नभएसम्म राजीनामाको माग असंगत भएको बताए। कांग्रेसका अर्का नेता अर्जुनसिंह केसीले यथार्थ बाहिर नआएसम्म निष्कर्षमा नपुग्न आग्रह गरे।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गृहमन्त्रीले संसद वा समितिमा स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे। उनले रवि लामिछानेको प्रकरणमा पनि पहिले छानबिन र जवाफ मागिएको स्मरण गराए।

गृहमन्त्री लेखकले भने केही दिनमै विषयमा विस्तृत धारणा सार्वजनिक गर्ने बताएका छन्। उनले आफू गलत कार्यमा संलग्न नभएको र अहिले भइरहेको प्रचारको स्रोत खोजी गरिरहेको बताए। आफूले कहिल्यै पार्टीको बदनाम हुने काम नगरेको भन्दै कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्।

सम्बन्धित समाचार

ताजा न्यूज