सार्वजनिक र राजनीतिक जीवनमा कुनै पनि अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा कुनै पनि आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने स्पष्ट घोषणा गरेका छन्।

शनिबार साँझ काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयसँग जोडिएको घटनामा आफ्नो नाम जोडेर नियोजित र षड्यन्त्रपूर्वक झुटा प्रचार गरिएको भन्दै आपत्ति जनाए।

उनले भने, “मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ। त्रिभुवन विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषयमात्रै होइन, मेरो सम्पूर्ण सार्वजनिक जीवनमा यदि एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाटै राजीनामा दिन्छु।”

मन्त्री लेखकले यस विषयमा थप विवरण संसद्मा स्पष्ट पार्ने बताउँदै प्रतिनिधिसभाको आगामी बैठकमा समय मागिसकेको जानकारी पनि दिए।

उनले गृह मन्त्रालय अन्तर्गत लाखौं कर्मचारी कार्यरत रहेको स्मरण गराउँदै यस्ता निकायहरूमा बेला बेलामा अनुसन्धान हुनु स्वाभाविक रहेको र त्यसका आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने चलन बसाउन नहुने धारणा व्यक्त गरे।

“गृह मन्त्रालय यति ठूलो छ, यहाँ हजारमा होइन लाखमा कर्मचारी छन्। कुनै बेला कुनै कर्मचारीमाथि अनुसन्धान हुनसक्छ, तर त्यसका आधारमा मन्त्रीले राजीनामा दिँदै जाने परम्परा बसाउनु गलत हो,” मन्त्री लेखकको भनाइ छ।

सम्बन्धित समाचार

ताजा न्यूज