भिजिट भिसा काण्डमा नाम जोडिएपछि गृहमन्त्री लेखकको खण्डन : गलत गरेको प्रमाणित भए राजनीतिबाटै बाहिरिन्छु

जनकपुरधाम । विगतमा मन्त्रीहरूले विवादित भएपछि तुरुन्त राजीनामा दिनुपर्ने आवाज उठाउँदै आएका हालका गृहमन्त्री रमेश लेखक आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि विवादमा तानिएका छन्। यसबारे खण्डन गर्दै उनले छानबिनपछि सत्य बाहिर आउने दाबी गरेका छन्।

धनुषामा आयोजित पार्टीको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले आफू बाहिर रहेका कारण गृह मन्त्रालयले घटनाबारे विज्ञप्ति निकाल्न ढिलो भएको बताए। उनले भने, ट्वीटरमा जे पायो त्यही लेखिराछन्। म दुई–तीन दिन किन चुप बसेँ भने कहाँबाट के भइरहेको छ भन्ने बुझ्दै थिएँ। धेरै कुरा बुझिसकेको छु। आज म कार्यक्रम सकेर फर्किएपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ।

गृह मन्त्रालयले घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्ने तयारीमा रहेको उल्लेख गर्दै उनले पार्टीपंक्तिको टाउको निहुराउने कुनै काम नगरेको दाबी गरे। म दुई–चार दिनमा यस विषयमा आफैं बोल्छु। पार्टीपंक्तिको शीर निहुरिने काम कहिल्यै गरेको छैन, त्यसैले चिन्ता लिनुपर्ने अवस्था छैन, उनले भने।

सार्वजनिक भएका सबै विषयमा यथोचित ढंगले छानबिन हुने स्पष्ट गर्दै गृहमन्त्री लेखकले आफूले कुनै गलत कार्य गरेको प्रमाणित भए राजनीतिबाटै टाढिने चेतावनीसमेत दिए। यदि मैले गलत काम गरेको प्रमाणित भयो भने त्यो दिनदेखि म राजनीतिमा देखिन्ने छैन, गृहमन्त्री लेखकले दोहोर्‍याए।

सम्बन्धित समाचार

ताजा न्यूज