तीनकुने प्रदर्शन प्रकरणमा १०८ जनाविरुद्ध मुद्दा सिफारिस

काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते राजतन्त्र समर्थकहरूको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले अनुसन्धान सम्पन्न गर्दै १०८ जनाविरुद्ध मुद्दा चलाउने सिफारिससहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार, बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइएको हो। घटनामा संलग्न भएको आरोपमा ९० जनालाई पक्राउ गरी अनुसन्धान गरिएको थियो।

सरकारी वकिल कार्यालयका प्रवक्ता गोकुलबहादुर निरौलाले प्रतिवेदनको विश्लेषण भइरहेको र आइतबारभित्र जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गरिने जानकारी दिए। उनका अनुसार चार बालबालिकासहित १०८ जनाविरुद्ध पाँच फरक कसुरमा मुद्दा अघि बढाउने तयारी छ।

प्रहरीको सिफारिस अनुसार अभियोगहरूमा अपराधिक उपद्रव, संगठित अपराध, राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योग समावेश छन्।

प्रहरीका अनुसार आपराधिक उपद्रव र संगठित अपराधमा ६१ जना, राज्यविरुद्धको कसुरमा २९ जनामाथि अनुसन्धान भएको थियो। तीमध्ये ३७ जना हाल हाजिरी जमानीमा छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशमशेर राणा हाजिरी जमानीमा छुटेका छन् भने प्रदर्शनमा नेतृत्व गरिरहेका दुर्गा प्रसाईं प्रहरी हिरासतमा नै रहेका छन्।

प्रवक्ता निरौलाका अनुसार प्रतिवेदनमा केही संशोधन हुन सक्ने भए पनि अन्तिम अभियोगपत्र आइतबारभित्र दर्ता हुने छ।

सम्बन्धित समाचार

ताजा न्यूज