काठमाडौं। सेटिङ निमल्दा विमानस्थल अध्यागमनका हाकिम अख्तियारको फन्दामा परेका छन् । आज बिहीबार बिहान उपस्थित हुनेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई हिजै साँझ छोडिदिएको छ ।
मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार उनको नेतृत्वमा भिजिट भिसामा पैसा अशुल गरेर मानवतस्करी गर्ने गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि अख्तियारले नियन्त्रणमा लिएको हो ।
उनले भिजिट भिसामा मानव तस्करसँग मिलेमताे गरेको गुनासो गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेको थियो भने अख्तियारमा पनि उजुरी परेको थियो । भट्टराईमाथि मानव तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ रहेको गम्भीर आरोप लागेको छ।
गृहमन्त्री लेखकको सिफारिसमा केही समयअघि मात्र विमानस्थलको अध्यागमन प्रमुखका रूपमा नियुक्त गरिएका भट्टराईलाई मंगलबार गृह मन्त्रालयले आकस्मिक रूपमा सरुवा गरेको थियो। तर उनी नयाँ कार्यस्थलमा जान नपाउँदै बुधबार अख्तियारले उनलाई अध्यागमन कार्यालयमै पुगेर नियन्त्रणमा लिएको हो।
मानव तस्करीसँग जोडिएको अध्यागमनको चक्रव्यूह
अध्यागमन कार्यालयबाट भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जान चाहनेहरूबाट ठूलो रकम असुली हुने गरेको तथ्य फेला परेको छ। स्रोतहरूका अनुसार युएई र साउदी अरेबियाजस्ता खाडी मुलुकमा पठाउन प्रति व्यक्ति ५० देखि ७५ हजार रुपैयाँ, युरोपका माल्टा र पोर्चुगलजस्ता मुलुकमा पठाउन ३ देखि ४ लाख रुपैयाँसम्म असुली हुने गरेको छ।
तीन सिफ्टमा काम गर्ने अध्यागमन टोलीबाट संकलित रकमलाई पाँच भागमा बाँड्ने प्रचलन रहँदै आएकोमा, भट्टराई प्रमुख बनेपछि उनले रकमलाई ६ भागमा बाँडेर थप एक भाग आफैं लिने गरेको स्रोतले जनाएको छ।
विवादास्पद सरुवा
स्रोतका अनुसार भट्टराई गृहमन्त्रीको सचिवालयसम्म रकम पुर्याउने सञ्जालमा सक्रिय थिए। यसअघि पनि भट्टराई विभिन्न विवादमा मुछिँदै आएका छन्।
२०७२ सालको भूकम्पपछिको त्रिपाल खरिदमा अनियमितता आरोपमा उनी अख्तियारको छानबिनमा परेका थिए।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक हुँदा निजी कम्पनीलाई ठेक्का दिँदा रास्वपाका नेता रवि लामिछाने गृहमन्त्री रहँदा विवादमा तानिएका थिए।
त्यसपछि उनलाई केही समय जिम्मेवारीविहीन बनाउँदै कम महत्वको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गरिएको थियो।
तर गृहमन्त्रीमा रमेश लेखक आएपछि उनलाई पुनः विमानस्थलजस्तो संवेदनशील जिम्मेवारी दिइएको थियो।
सरुवा भएको भोलिपल्टै अख्तियारले नियन्त्रणमा लिएको अवस्थामा पनि भट्टराईले सरुवा आफ्नो इच्छा अनुसार भएको दाबी गरेका थिए।
मंगलबार बिहान उनले भनेका थिए, “मैले मन्त्रालय आउन खोजेको थिएँ। त्यसैले मेरो इच्छा र चाहनाअनुसार नै सरुवा भएको हो।”
तर स्रोतका अनुसार उनले आफूविरुद्ध उजुरी परेको थाहा पाउँदै जतिसक्दो चाँडो सरुवा माग गरेका थिए।
अख्तियारको अनुसन्धान प्रारम्भ
अख्तियारले भट्टराईमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ। अध्यागमन कार्यालयमा चलिरहेको व्यापक आर्थिक दुरुपयोगको आरोपले गृह मन्त्रालयको भूमिकामाथि पनि प्रश्न उठाएको छ।
यो प्रकरणले राज्य संयन्त्रभित्रको संरक्षित भ्रष्टाचार र मानव तस्करीको गिरोहबारे गम्भीर शंका उत्पन्न गराएको छ। अख्तियारले निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सक्षम हुन्छ वा फेरि पनि यस्ता प्रकरणहरू सरकारी संरक्षणमा ओझेलमा पर्नेछन् भन्ने प्रश्न पनि उब्जिएको छ ।