काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइपिओ प्रक्रिया अघि बढाइरहेका १४ कम्पनीको प्रस्ताव अस्वीकार गर्दै सूचीबाट हटाएको छ। सेबोनले कम्पनीहरूको वित्तीय अवस्था कमजोर देखिएपछि यस्तो कदम चालेको हो।
बोर्ड स्रोतका अनुसार ती कम्पनीहरूको प्रति शेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेको पाइएको छ, जसका कारण सार्वजनिक लेखा समिति तथा नियामक निकायको सिफारिस अनुसार उक्त निर्णय गरिएको हो।
सेबोनले सार्वजनिक सूचना जारी नगरे पनि हटाइएका कम्पनीहरूको सूचीमा जलविद्युत्, पर्यटन, स्वास्थ्य, सञ्चार र औषधि उद्योगसम्बन्धी कम्पनीहरू समावेश छन्।
हटाइएका जलविद्युत् कम्पनीमा सानिमा हाइड्रोपावर, पुवा खोला–वन हाइड्रो, रिचेट जलविद्युत्, लाफिङ बुद्ध पावर नेपाल लगायत छन्। त्यस्तै, ठमेल प्लाजा होटेल एन्ड सुइट्स, अन्नपूर्ण केबलकार, एपेक्स हस्पिटालिटी, कान्तिपुर टेलिभिजन, प्रभु हेलिकप्टर, अर्किड होल्डिङ, युनिक हाइडेल, एकर्ड र सोपान फर्मासुटिकल्स पनि सूचीबाट हटाइएका कम्पनीमा पर्छन्।
यस निर्णयसँगै ती कम्पनीहरूले अब पुनः आइपिओ प्रक्रिया अघि बढाउन पूर्वाधार मजबुत बनाउनु पर्नेछ।
धितोपत्र बोर्डका एक अधिकारीका अनुसार, “लगानीकर्ताको सुरक्षालाई मध्यनजर गर्दै नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आइपिओ निष्कासनको अनुमति दिन मिल्दैन। बजारको विश्वास जोगाउन नियमन कडा बनाइएको हो।”
हाल सेबोनको आइपिओ पाइपलाइनमा ७७ वटा कम्पनी छन्, जसले झन्डै ५३ अर्ब रुपैयाँ बराबरको शेयर निष्कासनको तयारी गरिरहेका छन्।
बोर्डले लगानीकर्तालाई वित्तीय सूचकाङ्क, कम्पनीको पारदर्शिता र बजार सुदृढीकरणप्रति संवेदनशील बन्न आग्रह समेत गरेको छ।