काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा विधेयकमा पूर्व सहमतिहरूलाई पूर्ण रूपमा समावेश नगरे गम्भीर आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। महासंघले विज्ञप्ति जारी गर्दै सरकारसँग विगतमा भएका नौबुँदे सहमति कार्यान्वयनमा गम्भीर ढिलाइ भएको भन्दै आन्दोलन पुनः सुरु हुन सक्ने स्पष्ट संकेत दिएको हो।
विज्ञप्तिमा भनिएको छ, “समितिमा हुने छलफलमार्फत शिक्षक–कर्मचारी विरोधी प्रावधान हटाइ सहमतिअनुसारको प्रतिवेदन तयार हुन जरुरी छ। यसमा अन्यथा भए हामी २०८१/८२ को भन्दा ठूलो र बलियो आन्दोलनमा जान बाध्य हुनेछौं।”
गएको चैतमा शिक्षक–कर्मचारीमैत्री शिक्षा ऐनको माग गर्दै काठमाडौंमा केन्द्रित आन्दोलन भएको थियो। त्यसपछि वैशाख १७ मा सरकारसँग भएको नौबुँदे सहमति पछि आन्दोलन रोकिएको थियो। तर नयाँ विधेयकको प्रारम्भिक प्रतिवेदनमा ती सहमति समेटिएको छैन भन्ने ठहर महासंघले गरेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले आइतबार प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदनले शिक्षकहरूका मुख्य माग सम्बोधन नगरेको भन्दै महासंघले कडा असन्तोष प्रकट गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “आवश्यकता अनुसार जुनसुकै बेला आन्दोलन सुरु हुन सक्छ, त्यसैले सम्पूर्ण शिक्षक तथा कर्मचारी साथीहरूलाई तयारी अवस्थामा रहन हार्दिक अनुरोध गर्दछौं।”
महासंघको यस्तो चेतावनीसँगै शिक्षाक्षेत्र पुनः अस्थिरतातर्फ उन्मुख हुने संकेत देखिएको छ। अब समितिको अन्तिम प्रतिवेदनले शिक्षकहरूको माग कत्तिको सम्बोधन गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित हुने देखिन्छ।