काठमाडौं । टेराम्याक्स प्रविधिसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार प्रकरणमा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्यहरू धनराज ज्ञवाली, टीका प्रसाद उप्रेती, तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद बस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र, निर्देशक सुरेन्द्रलाल हाडा, दिपेश आचार्य र उपनिर्देशक संदिप अधिकारी, परामर्शदाता जमाल अनौती, एजेन्ट दिलीप कुमार गुरुङ, तेज प्रसाद खरेल र सम्बन्धित कम्पनीहरूलाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरेको हो।
प्रतिवादीहरूबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको बिगो माग गरिएको आयोगले जनाएको छ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित बस्नेत सूचना तथा सञ्चार प्रविधिमन्त्रीका रूपमा कार्यरत रहँदा उक्त प्रकरणमा संलग्न भएको आरोप लागिएको हो।
टेराम्याक्स प्रकरण लामो समयदेखि अख्तियारको अनुसन्धानमा रहे पनि राजनीतिक दबाबका कारण निर्णय प्रक्रियामा ढिलाइ भएको भन्दै आलोचना हुँदै आएको थियो। अन्ततः आयोगले मुद्दा दर्ता गर्दै कानुनी प्रक्रिया अघि बढाएको हो।