संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । संक्रमणकालीन न्यायलाई अघि बढाउने उद्देश्यसहित सरकारले दुई प्रमुख आयोगहरूमा अध्यक्षसहित पाँच–पाँच सदस्यको नियुक्ति गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको प्रस्तावअनुसार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको हो।

सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्षमा ऋण असुली पुनरावेदन न्यायाधिकरणका पूर्वअध्यक्ष महेशकुमार थापा नियुक्त भएका छन् भने बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्वमुख्यसचिव लिलादेवी गड्तौला चयन भएकी छन्।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा नियुक्त हुनेहरूः
१. महेश कुमार थापा – अध्यक्ष
२. अच्युत प्रसाद भण्डारी – सदस्य
३. टिका प्रसाद ढकाल – सदस्य
४. पदम बहादुर शाही – सदस्य
५. कुमारी कौशल्य ओझा – सदस्य

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा नियुक्त हुनेहरूः
१. लिलादेवी गड्तौला – अध्यक्ष
२. गोपालनाथ योगी – सदस्य
३. अग्निप्रसाद थपलिया – सदस्य
४. सिर्जना पोखरेल – सदस्य
५. विनिता नेपाली – सदस्य

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सिफारिस समितिले यी पदाधिकारीहरूको नाम सिफारिस गरेको थियो। समितिको सिफारिसअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

नियुक्तिमा सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीचको भागबन्डा भएको थियो । सत्य निरूपण आयोगमा नियुक्त अध्यक्ष महेश थापा नेपाली कांग्रेसको तर्फबाट सिफारिसमा परेका हुन् भने बेपत्ता छानबिन आयोगकी अध्यक्ष लिलादेवी गड्तौला नेकपा एमालेको कोटाबाट सिफारिसमा परेकी हुन्।

 

सम्बन्धित समाचार

ताजा न्यूज