काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था सम्बन्धी ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद माया राईलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
बुधवार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासबाट सांसद राईलाई धरौटीमा छाड्ने आदेश जारी गरिएको हो। जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा दायर गरेसँगै धरौटीमा रिहा सम्बन्धी आदेश आएको हो।
भोजपुरकी सांसद राई नेपाली कांग्रेसको समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभा प्रवेश गरेकी हुन्। उनलाई वैशाख १३ गते बूढानीलकण्ठबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो।
सरकारी वकिलको प्रतिवेदन अनुसार माया राईले स्वर्णलक्ष्मी सहकारीमा सदस्य तथा सचिव पदमा रहँदा करिब दुई करोड ३१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ। उनी २०७३ कात्तिकदेखि २०७६ भदौसम्म संस्था संलग्न रहेकी थिइन्।
यसअघि माघमा सोही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो। त्यसबेला राईलाई प्रतिवादी सूचीमा नसमेटिएको भन्दै आलोचना भएको थियो। त्यसपछि प्रहरीले पूरक अनुसन्धान गर्दै उनलाई पक्राउ गरेको थियो।
सांसद राई धरौटीमा छुटेपछि सरकारी वकिल र प्रहरी प्रशासनमाथि पुनः निष्पक्षता र जवाफदेहिता विषयमा प्रश्न उठेको छ। यसै प्रकरणमा रवि लामिछाने भने ६० लाख रुपैयाँ धरौटीमा छुटेका थिए।
यस ठगी मुद्दामा हालसम्म एक अर्ब १९ करोडभन्दा बढी रकम बिगो माग गरिएको छ।