काठमाडौं । ४८ दिनदेखि प्रहरी हिरासतमा रहेका रविन्द्र मिश्रलाई फेरि ५ दिन थुन्न म्याद थप भएसँगै मिश्र अझै १३ दिन नछुट्ने भएका छन् ।
प्रहरीले अनुसन्धान सकेर मुद्दा चलाउने भएपनि त्यसपछि अदालतले छोड्न सक्ने आशा राखेका मिश्रलाई अहिले भने पटक पटक गरेर प्रहरीले डेढ महिनादेखि थुनामा राखिरहेको छ ।
अदालतको साँघुरो कोठा तीनकुने घटनाका राज्यविरुद्धको कसुरका आरोपितहरूले भरिएको थियो। काठमाडौँ जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासमा यो मुद्दाका आरोपितहरूको म्याद थप गर्ने पालो अन्तिममा आयो।
अदालतले पटकपटक थुनामा राख्दै गएपछि मिश्र पछिल्लो समय थप चिन्तित हुन पुगेका छन् । वैशाख १० गते तीन दिनभित्रमा अनुसन्धान सक्नू भनेर त्यति मात्रै म्याद दिएपछि उनलाई छुट्ने आश राखेको मिश्रलाई पटक पटक गरेर राज्यले म्याद थप गर्दैै थुन्दै गरेको छ ।
अदालतसमक्ष म्याद थपको बहसमा मिश्रका तर्फबाट वकिलले तीनकुने घटनामा कांग्रेस र एमालेका कार्यकर्ताको पनि संलग्नता रहेको तर उनीहरूलाई भने मुद्दा नचलाई रिहा गरिएको आरोप लगाए।
अदालत समक्ष मिश्रले राज्यको प्रतिशोधका लागि आफू केही घण्टा पनि थुनामा बस्न नचाहेको बताए।
‘४१ दिन थुनिसकेपछि मलाई फेरि आपराधिक उपद्रवको कसुर लगाइएको छ। मैले कसरी आपराधिक उपद्रव गरेँ। मेरो त्यसमा कहाँनेर संलग्नता छ। यस्तै हुन्छ न्याय ?’ मिश्रले भने, ‘ठिक छ उहाँहरूले केही दिन मात्रै त हो अब भन्नु भयो। उहाँहरूलाई किन केही दिनको म्याद दिने र त्यसका लागि हामी किन थुनामा बसिदिनु पर्ने श्रीमान् ? म केही दिन त होइन, केही घण्टा पनि अन्यायपूर्ण रूपमा थुनामा बस्न चाहन्नँ।’
उनले आफूसँगै पक्राउ परेका राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर जबरालाई रिहा गरिएको विषयमा पनि कुरा उठाए।
‘धवल शमशेरलाई केही दिनपहिले नै छाडिएको छ। उहाँलाई जस्तै मलाई पनि छाड्दा मैले के बिगार्छु श्रीमान ? के प्रमाण नष्ट हुन्छ र ? मोबाइल सबै उहाँहरूले नै लगिसक्नु भएको छ। त्यसबाहेक के प्रमाण छ र उहाँहरूसँग ? फरक विचारकै आधारमा यस्तो अत्याचार नागरिकले भोगिदिनु पर्ने ?’
तर सरकारी वकिलले भने त्यसअघि नै यो मुद्दाका सबै प्रमाण डिजिटल भएकाले उनीहरूलाई थुनामुक्त गरे असर पर्ने बताएका थिए। उनले अहिले थप गरिएको म्यादभित्र पनि अनुसन्धान नसकिए फेरि म्याद लिने बताइसकेका छन्। अझै अनुसन्धान गरेर प्रमाण जुटाउन पर्ने थुप्रै विषय रहेको सरकारी वकिलको भनाइ छ।
तीनकुने घटनाको नेतृत्व गरेका दुर्गा प्रसाईंले पनि यो मुद्दामा विभेदपूर्ण ढंगबाट अनुसन्धान भइरहेको बताए। उनले पनि एमाले र कांग्रेसका कार्यकर्तालाई भने छाडिएको बताए। उनले पक्राउ परेर पनि छुटेका एमाले कांग्रेसका कार्यकर्ता भएको दाबी गरे।
तर सरकारी वकिलले भने ती छुटेका व्यक्तिहरू थुनाबाहिर राखेर पनि अनुसन्धान गर्दा फरक नपर्ने व्यक्ति भएको र जसलाई थुनामै राख्नु पर्ने हो उनीहरूलाई मात्रै थुनामा राखिएको बताएका छन्।
प्रसाईंले भने आफू २० वर्ष जेल बस्न पनि तयार रहेको तर आफ्ना सहयोगी, सवारी चालकलाई पनि पक्राउ गरेर अन्याय गरेको बताए।
‘मेरो अस्पतालको ड्राइभरलाई पनि पक्राउ गरेर मुद्दा लगाइएको छ। यो भाइले के राज्यविरुद्धको कसुर गर्यो श्रीमान्रु यस्तो पनि हुन्छ त अनुसन्धानरु बरु म २० वर्ष जेल बस्न पनि तयार छु तर निर्दोषलाई थुन्न त भएन नि। यसरी त आसामतिरका मान्छेलाई पनि उठाउँदै राज्यविरुद्धको कसुरमा हाले भइगयो नि,’ प्रसाईंले भने।
प्रसाईं बोलेपछि साँघुरो इजलासबाट २६ जना थुनुवालाई लाइन लगाएर बाहिर निकाल्दै प्रहरीले हतकडी लगाउन थाल्यो। त्यसको करिब आधा घण्टापछि इजलासले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको आदेश सुनायो।
अदालतले रवीन्द्र मिश्रसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । तीनकुने घटनामै संलग्न रहेको आरोपमा अरु ३४ जना पनि हिरासतमा छन्। उनीहरूलाई यसअघि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता मिश्रलाई चैत १५ गते बेलुका नै पक्राउ गरेको थियो। उनीसँगै पक्राउ परेका राप्रपाका धवलसमशेर भने छुटिसकेका छन् ।