काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। गत १५ चैतमा तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलाई प्रहरीले सो घटनासँग जोडेर पक्राउ गरेको थियो। उनीमाथि राज्यद्रोह, संगठित अपराध र आपराधिक उपद्रवजस्ता गम्भीर अभियोगमा अनुसन्धान भइरहेको छ।
प्रहरीले मंगलबार मिश्रसहित अन्य पक्राउ परेकालाई आठौं पटक म्याद थपका लागि जिल्ला अदालतमा पेश गरेको थियो। अदालतले मिश्रलाई थप पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न स्वीकृति दिएको हो।
उक्त प्रकरणमा पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणा भने स्वास्थ्य अवस्था कमजोर भएको भन्दै थुनाबाहिरै अनुसन्धानको दायरामा राखिएका छन्। यस्तै, आन्दोलनका कथित कमान्डर दुर्गा प्रसाईं भने हाल पनि हिरासतमा छन्। उनलाई कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगलगायतका अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।