काठमाडौं। कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। सांसद राईमाथि ३७ लाख रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, बबरमहलले मंगलबार अदालतमा मुद्दा दायर गरेको हो।
यसअघि सांसद राईलाई सो प्रकरणमा उन्मुक्ति दिँदै मुद्दा दर्ता गरिएको थियो। तर, सहकारीको विभिन्न कागजातमा उनको हस्ताक्षर देखिएको तथ्य सार्वजनिक भएपछि वैशाख १३ गते प्रहरीले उनलाई कपनबाट पक्राउ गरेको थियो।
सरकारी वकिल कार्यालयले पूरक अभियोजनमार्फत सांसद राईसहित अन्य केही व्यक्तिलाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो।
सामान्यतः संगठित अपराध अन्तर्गतको मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी व्यवस्था छ। तर, सांसद राईको हकमा भने १७ दिनमै मुद्दा अदालतमा दायर गरिएको हो।