उच्च अदालत सुर्खेतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध न्याय परिषदमा उजुरी

काठमाडौं । रूकुम पश्चिमको सोती घटनासम्बन्धी फैसलामा जातीय विभेदको कसुर बदर गरेको भन्दै उच्च अदालत सुर्खेतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीविरूद्ध पीडित परिवारले न्याय परिषदमा उजुरी दिएका छन्।

बिहीबार पीडित परिवार न्याय परिषद कार्यालय पुगेका थिए। उनीहरूले न्यायाधीश मैनाली र भण्डारीले जातीय भेदभाव र छुवाछुतसम्बन्धी कसुरमा जिल्ला अदालतले गरेको फैसलालाई बदर गरेको भन्दै गुनासो दर्ता गराएका हुन्।

उजुरी दर्ता गर्न नवराज विकका बुवा मुनलाल नेपाली, गोबिन्द शाहीकी आमा भिमीकुमारी बुढाथोकी शाही र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनार परिषदमा पुगेका थिए। न्याय परिषदका सचिव यमबहादुर बुढामगरले पनि पीडित परिवार परिषदमा आएको पुष्टि गरेका छन्।

२०७७ जेठ १० गते सोती गाउँमा स्थानीयको आक्रमणबाट नवराज विकसहित ६ जनाको हत्या भएको थियो। जातीय विभेदकै कारण घटना भएको भन्दै मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले केही अभियुक्तलाई जातीय विभेदसम्बन्धी कसुरमा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। तर, गत वैशाख १६ गते उच्च अदालत सुर्खेतले सो सजाय बदर गरेको थियो।

उच्च अदालतले जिल्ला अदालतले तोकेको जन्मकैद भने सदर गरे पनि जातीय विभेदसम्बन्धी सजाय हटाएकोमा पीडित परिवारले विरोध जनाउँदै आएका छन्। सो फैसलाको पूर्णपाठ भने हालसम्म सार्वजनिक भइसकेको छैन।

सम्बन्धित समाचार

ताजा न्यूज