काठमाडौं । संक्रमणकालीन न्यायका दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि हालसम्म भएका सम्पूर्ण प्रक्रिया स्थगन गरी सुरुबाटै नयाँ प्रक्रिया थाल्न मानवअधिकार क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरूले आग्रह गरेका छन्।
एड्भोकेसी फोरम नेपाल, एमनेस्टी इन्टरनेशनल नेपाल, जवाफदेहिता निगरानी समिति, इन्सेक, जुरी नेपाल लगायतका संघसंस्थाले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै पदाधिकारी सिफारिस समितिलाई अहिलेको नियन्त्रित र देखावटी प्रक्रिया रोक्न आग्रह गरेका छन्। साथै, छनोटका लागि नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्।
विज्ञप्तिमा उनीहरूले पीडितसँग परामर्श गरेर मात्रै सिफारिस प्रक्रिया अघि बढाउनुपर्ने र अध्यक्ष तथा सदस्यका लागि थप योग्य उम्मेदवार पहिचान गरी नयाँ सूची सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन्। समय अभाव भएमा सरकारले अतिरिक्त समय माग गर्नुपर्ने पनि सुझाव दिएका छन्।
संगठित संस्थाहरूले समितिको पछिल्लो सूचीलाई ‘निराशाजनक’ भन्दै एउटै व्यक्तिहरूलाई दोहोर्याइराखेर प्रक्रिया अगाडि बढाइएको, पारदर्शिता र विश्वसनीयताको अभाव रहेको, र प्रक्रिया कर्मकाण्डी बनेको आरोप लगाएका छन्।