काठमाडौं । बैंककाे ७ अर्ब तिर्न बाँकी राखेका दुर्गा प्रसाईमाथि सम्पत्ति शुद्धीकरणसहित बैंकको कर्जा दुरुपयोगमा अनुसन्धान सुरु भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मेडिकल व्यवसायी तथा राजावादी अभियानमा संलग्न दुर्गा प्रसाईंँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको हो ।
सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर प्रसाईसँग बयान लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका उनलाई उच्च सरकारी वकिल कार्यालयमा झिकाएर बयान लिन सुरु भएको हो ।
प्रसाईले लिएको ऋण विभिन्न बैंकलाई तिर्न बाँकी करिब ७ अर्ब रुपैयाँ छ । उनले दुई वर्षदेखि ऋणको किस्तासमेत नियमित गर्न नसकेको सम्बन्धित बैंकहरुले जानकारी दिएका छन् ।
प्रसाईकै नेतृत्वमा चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीले आन्दोलन हिंसात्मक भएपछि फरार भएर भारत पुगेका उनी हाल नेपाल प्रहरीको हिरासतमा छन् ।
बैंकबाट अर्बौं रुपैयाँ कर्जा लिएर ऋण मिनाहा गराउने भन्दै आन्दोलन चर्काएका प्रसाईंका कम्पनीले लिएको ऋणमा समस्या देखिएपछिसीआईबीले कर्जा दुरुपयोग र सम्पत्ति शुद्वीकरणमा अनुसन्धान थालेको हो।
६ वाणिज्य बैंक, १ विकास बैंक र १ फाइनान्स कम्पनीबाट उनका ३ परियोजनाले लिएको कुल ५ अर्ब रुपैयाँ ऋण करिब ७ अर्ब रुपैयाँ पुगेको छ । जसको सावाँ र ब्याज पछिल्लो २ वर्षभन्दा बढी समयदेखि नियमित छैन ।
प्रसाईंको नेतृत्वमा अघि बढेका ३ वटा परियोजनामा ८ वटा बैंक तथा वित्तीय संस्थाको करिब ७ अर्ब रुपैयाँ ऋण पुगेको छ । ३ वटा परियोजनाको ऋण नियमित नभएको बैंकरहरु नै बताउँछन् । प्रसाईंले झापामा बीएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएका छन् । त्यस्तै उनले झापामै एट्रियम होटल समेत निमार्ण गरिरहेका छन् ।