भारतको केआईआईटीमा फेरि एक नेपाली विद्यार्थीको मृत्यु, तत्काल कडा कारबाही गर्न एबीभीपीको माग

काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी पुनः मृत फेला परेकी छन्। वीरगञ्जकी प्रिशा शाह बिहीबार बेलुकी करिब ८ बजे आफ्नो होस्टलको कोठामा झुण्डिएको अवस्थामा फेला परेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले पुष्टि गरेको छ।

दूतावासका कन्सुलर एसएसपी सञ्जीव शर्मा दासका अनुसार घटनाको अनुसन्धान प्रारम्भ भइसकेको छ र प्रिशाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। दूतावासका अनुसार पोष्टमार्टम मृतकका परिवार सदस्यहरू आइपुगेपछि मात्र गरिनेछ।

यो घटना केही महिनाअघि केआईआईटीमै भएको अर्को दुःखद घटनालाई पनि स्मरण गराउँछ। गत ४ फागुनमा सोही संस्थामा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमै मृत फेला परेकी थिइन्। त्यसबेला पनि आत्महत्याको आशंका गरिएको थियो।

लगातार नेपाली विद्यार्थीको मृत्यु भएपछि भारतकै सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले गम्भीर आपत्ति जनाएको छ। बिहीबार राति जारी विज्ञप्तिमा एबीभीपीले उक्त घटनालाई “अत्यन्त पीडादायी, घिनलाग्दो र लज्जास्पद” भनेको छ।

एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटी प्रशासनविरुद्ध तत्काल कठोर कारबाही गर्न ओडिसा राज्य सरकारसँग माग गरेका छन्। उनले नेपाली विद्यार्थीहरूलाई आत्महत्यामा धकेल्ने खालका संरचनागत कमजोरी र प्रशासनिक उदासिनता भएको संकेत गर्दै यसलाई अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षामाथिको गम्भीर प्रश्नको रूपमा उठाएका छन्।

लगातार दोहोरिँदो घटनाले केआईआईटीमा अध्ययनरत अन्य नेपाली विद्यार्थीहरू तथा उनीहरूका परिवारजनहरूमा त्रास फैलिएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज