पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा. निकोलस भुसालसहित फोटो सार्वजनिक गर्नेमाथि कारबाही गर्ने भएको छ । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक भएको विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानलाई नकारात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै घटनामा संलग्नलाई कारबाही गर्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘गोपनीयता कायम गर्नुपर्ने तस्बिर प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने छ,’ । ‘नेपालको संविधान एवं प्रचलित ऐन कानुन बमोजिम फौजदारी न्याय प्रणालीका मूल्य मान्यताको अनुसरण गर्दै तथ्य एवं प्रमाणमुखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्की सदैव प्रतिबद्ध रहेको ब्यहोरा अनुरोध गर्दछौँ ।’
हिरासतमा रवि सुतिरहेको उक्त फोटो डा. निकोलसले आफनो फेसबुक आइडीबाट सार्वजनिक गरेका थिए। फोटो सार्वजनिक भए लगत्तै यसको व्यापक निन्दा भएको थियो । निकोलसले फोटो आफूले खिचेको स्वीकार गर्दै तस्बिर हटाए पनि सञ्जालमा भाइरल भएकोछ ।