रुपन्देही । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल पठाइएका छन्।
चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेललाई रुपन्देही जिल्ला अदालतले थुनामा राखेर मुद्दा अगाडि बढाउने आदेश दिएको हो। जिल्ला अदालतका न्यायाधीश डिल्लीराम अर्यालको इजलासबाट पुर्पक्ष थुनाको आदेश दिइएको अदालतले पुष्टि गरेको छ।
कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक रहेका थिए। पक्राउ लगत्तै पार्टीले उनलाई साधारण सदस्यता समेत नरहने गरी निलम्बन गरेको थियो।
यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट प्रहरीले भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादवलाई ठूलो मात्रामा नक्कली प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो। यादवको बयानका आधारमा प्रहरीले कँडेललाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो।
रुपन्देही प्रहरीका अनुसार, प्रमाणसहित पक्राउ परेका कँडेलविरुद्ध अदालतमा दर्ता भएको मुद्दामा थुनामै अनुसन्धान गर्ने आदेश आएको छ। जिल्ला अदालतको भवन जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि आदेश बाहिर आउन ढिलाइ भएको जनाइएको छ।

