जेन जी आन्दोलन स्वतः स्फूर्त कि विदेशी हस्तक्षेप ?

नेपाली समाजमा विगत देखि नै एउटा लघुताभासको दृष्टिकोण स्थापित छ । देश समाजमा घटने हरेक घटनाहरू  विदेशीहरू खेल हो भनेर विश्लेषण गरिन्छ । यसले सहजता पनि निर्माण गरेको छ । जुनसुकै कारणबाट घटना घटे पनि विदेशीको कारण हो भन्दिए पुगिहाल्छ । तर आजसम्म पनि यो कुरालाई पुष्टि गर्ने तथ्यहरू ठोस रूपमा कसैले फेला पारेको पाइँदैन । यसरी जबाफदेहिता विना गरिने विश्लेषणले जनमानसमा एक खालको भ्रम सृजना गर्छ र यसको प्रभावका कारण सबैको मानसपटलमा एउटा पूर्वाग्रही सोचको निर्माण हुन्छ ।

जेनजी विद्रोह एउटा सुशासनको पक्षमा भएको आन्दोलन थियो । यसको गर्भको कारण विगत लामो समयदेखि फैलिएको राजनीतिक निराशा थियो । देशमा अपेक्षित विकास हुन नसक्नु, चरम भ्रष्ट्राचार र कुशासन हुनुजस्ता प्रशस्त कारणहरू थिए । जनता सरकारको कामबाट आजित थिए । देशमा चाहेजस्तो विकास नहुँदा जनतामा चरम निराशा थियो । जताततै हुने बेतितीले जनता आक्रोशित थिए र अब देश नसुध्रने भयो भन्ने भाष्य स्थापित भइसकेको थियो । निरन्तरको निराशाका कारण नेपालीको बिदेसिने क्रम पनि बढेको थियो । देशभित्र सबैकुराहरु प्रतिकुल हुदैगएपछि नागरिकहरूबिच उकुसमुकुसको वातावरण सृजना भइरहेको थियो । एकाध घटनाका कारणले भन्दा पनि आन्दोलनको पृष्ठभूमि विगत समयदेखि नै तयार हुँदै आएको थियो र यसभित्र अनगिन्ती कारणहरू जिम्मेवार छन् ।

हिजोका दिनमा पनि राजनीतिक दलहरूले नेपाल बङ्गलादेशको दिशातिर जान लाग्यो भनेर अभिव्यक्ति दिएको पनि सुनेको हो । दलहरूभित्र पनि सरकारका कामकारबाही प्रति असन्तुष्टि फैलिएको थियो । एकपछि अर्को भ्रष्ट्राचार बढ्दै गइरहेको थियो । भ्रष्ट्राचार विभिन्न काण्डहरू पर्दाफास हुँदै थिए तर कुनै पनि काण्डहरूको छानबिन हुन नसक्दा देशमा दण्डहीनता बढ्दै थियो । यी सबैकुराहरु जनताहरूले नजिकबाट नियाल्दै आइरहेका थिए र राज्यको यस्तो शैलीका कारण जनतामा आक्रोशको ज्वाला दन्किरहेको थियो । एक हिसाबमा यो आन्दोलन अपेक्षित पनि थियो तर कुन रूपमा कहिले होला भन्ने मात्र थियो । नेताहरू आफै पनि सशङ्कित थिए । बारम्बार सडक र संसद्मा उनीहरूले कुरा उठाइरहेका थिए ।

यस समयमा केही एसियन देशहरूमा भष्ट्रचारविरोधी आन्दोलनहरू सुरु भइरहेका थिए । यसको प्रभाव पनि पर्दै गयो । विशेष गरी भ्रष्ट्राचार र कुशासन विरुद्ध चलेका आन्दोलनहरूले पनि नेपाली जनतालाई थप आक्रोशित बनाउँदै लगेको थियो । पछिल्लो समय इन्डोनेसियामा ‘नेपो बेबीज’ विरुद्ध आन्दोलन छेडिएको थियो र जसको कारणले हाम्रो देशमा पनि प्रश्न उठ्न थालिसकेको थियो । यसले पनि जनआक्रोशलाई थप बल थप्दै लग्यो । यही बिचमा सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध ग¥यो र यही कुरा तत्कालीन कारण बनी जेनजी विद्रोह भड्कियो ।

आन्दोलन पश्चात् यसको बारेमा विभिन्न कोणबाट व्याख्या र विश्लेषण हुन थालेको छ । मानिसहरूका अनेकौँ दृष्टिकोणहरू छन् तर ती दृष्टिकोणहरू आफैमा पूर्ण छैनन् । विभिन्न तहबाट यसका पछाडिको कारण खोज्न थालिए पनि उही पुरानो तरिकाले मानिसहरू विदेशी शक्तिमाथि दोष थुपारिरहेका छन् । तर यो आन्दोलन देशको विकराल अवस्थाको उपज हो भनेर स्वीकार गर्न सकेका छैनन् । अधिकांश विश्लेषकहरूको ठम्याइ भनेको विदेशी चलखेल हो । तर यो वस्तुगत विश्लेषणभन्दा पनि बढी पूर्वाग्रही सोच र दृष्टिकोण हो कि भन्ने लाग्छ । विदेशी चलखेल मात्र भनेर त यो कुराको पुष्टाई हुन सक्दैन कि त प्रशस्त आधार र प्रमाणहरू निकाल्न सक्नुपर्छ । यतिकै आरोप मात्र लगाउनु त विश्लेषण नभई लघुताभासको अभिव्यक्ति मात्र हो ।

राजनीतिक घटनाक्रममा नेपाली समाजमा षडयन्त्रको सिद्धान्तको पर्याप्त प्रयोग विगतदेखि नै हुँदै आएको छ । र जेजस्तो घटना भए पनि विदेशीतर्फ इङ्गित गर्ने चलन छ । यस्तो प्रकारको पूर्वाग्रही विचार समाजमा व्याप्त छ जसले विश्व राजनीतिको भ्रम मात्र पैदा गर्छ तर त्यो वास्तविकता नहुन सक्छ । यो रोग बौद्धिक र राजनीतिकर्मी दुवैमा रहिआएको छ । जुनसुकै कुराको निष्कर्ष पनि चलखेल हो भनेर निकालिन्छ । यस्तो प्रकारको विश्लेषण हुनको पछाडि अर्को कारण चाहिँ हाम्रा बौद्धिक र राजनीतिकर्मीको आधारमा पनि गर्ने गरिन्छ । किनभने सबै पत्रकार देखि राजनीति गर्जनेसम्मलाई विदेशी एजेन्टको नामाकरण गरिन्छ । अझ सरल भाषामा भन्दा त फलानो देशको फलानो दलाल भनेर जानिन्छ । अहिले कोही पनि नेपाली उच्च व्यक्तित्वलाई अछुतो छोडिँदैन, सबैको नाम कुनै न कुनै देशको नामसँग  जोडिन्छ । अझ अहिले त फलानालाई विदेशी इन्जेक्सन लगाइएको छ जसका कारण सबै काम विदेशीले चाहे अनुसार हुन्छ भन्ने भ्रम पनि फैलाएको अवस्था छ ।

विश्वराजनीतिको पछिल्लो अवस्थामा दुई उदीयमान देश चिन र भारतका कारण भू–राजनीति नहुने भन्ने चाहिँ होइन । यसको सानोतिनो असर नेपालमा पनि होला । राजनीतिक दबाब र प्रभाव नहुने भन्ने होइन तर सबै कुरा विदेशीको कारणले मात्र भयो भन्नु सत्य होइन । वास्तवमा यो खालको भ्रमका कारण नेपालीहरूमा एक खालको लघुताभासको भावना जागृत भइसकेको छ र यो दृष्टिकोण समाजको तल्लो तहसम्म पनि पुगेको पाइन्छ ।

आजसम्म जति पनि राजनीतिक घटनाहरू भए, आन्दोलनहरू भए तर यसको सबै श्रेय विदेशीलाई दिने गरिएको छ । अब त विश्लेषण नै नगरी विदेशीको चलखेल हो भनेर ठोकुवा गरिन्छ । यस्ता पूर्वाग्रही सोचका कारण वस्तुगत विश्लेषण भन्दा पनि पूर्वाग्रहका आधारमा निष्कर्ष निकाल्ने गरिन्छ । अहिले त समाजमा जोसकैले पनि आफूलाई बौद्धिक भनाउनको लागि यो दृष्टिकोण हावादारी हिसाबले प्रयोग गरेको पाइन्छ ।

यो जेनजी आन्दोलनको विश्लेषण पनि त्यसरी नै गर्न थालिएको छ । तर यसरी विदेशीको खेल भनिरहँदा यसको पछाडिका कारणहरू पनि त उजागर गर्नुपर्ने होला । यतिकै विदेशीको नाममा थोपरिदिएर मात्र त समस्याको समाधान नहोला । विश्लेषण गर्नेहरूले पनि विवश्त पार्न सक्नुपर्छ । सतही र पूर्वाग्रही विश्लेषण गरेर घटनाक्रम गलत दिशातिर मोड्नु हुँदैन । अहिलेको जेनजी आन्दोलनलाई पनि विदेशी चलखेल भनेर युवाहरूको आन्दोलनलाई अपमान गर्नु हुँदैन ।

अहिले हरेक कुरालाई विदेशी दृष्टिकोणबाट विश्लेषण गर्ने नजिर भइसकेको छ र यसले अधिकांश विषयलाई रहस्यमय पनि बनाउँदै लगेको छ । एक त विदेशी शक्ति हो भनेर दोष लगाएपछि जिम्मेवार मान्छेलाई विषयवस्तु पन्छाउन सजिलो पनि भएको छ । अर्को हिसाबमा विश्लेषकहरूलाई पनि बौद्धिकताको पहिचान गराउन सजिलो भएको छ । हाम्रो समाजमा त कसैले विदेशीको चलखेल हो भनेर भ्रम छर्न सके समाजले पनि बौद्धिक मान्ने गर्छ ।

हामीमाझ एउटा यक्ष प्रश्न खडा हुन्छ । त्यो भनेको आजसम्म जति पनि देशमा परिवर्तन भए ती सबै विदेशीको स्वार्थमा भएका हुन त? यसको उत्तर हामीले दिनै पर्छ नत्र हामी किन हाम्रो राष्ट्रियता, देशलाई स्विकार्न सकेका छैनौ । यसको अर्थ त हामी केही गर्न सक्दैनौ र हामीले केही पनि गरेको छैनौ भन्ने हो । ०४७ साल पछाडि यति धेरै परिवर्तनहरू भए तर हामीले यसको श्रेय विदेशी शक्तिलाई मात्र दिँदै आइरहेका छौ । हामीले गरेको परिवर्तनको लडाई हामी आफैले पनि स्वीकार गर्न सकेका छैनौ । यो नेपालीहरूको विडम्बना हो । अझै पनि हामी आफ्नो देशलाई ‘सतीले सरापेको देश’ भनेर गाली मात्र गरिरहेका छौ ।

अहिले आएर जेनजी आन्दोलनलाई पनि अमेरिकाको नियोजित योजना भन्न थालिएको छ तर शङ्का र पूर्वाग्रहको हिसाबमा यसरी विश्लेषण गर्नु हामी नेपालीको लघुताभास हो । जेन जीहरूले छेडेका आन्दोलनमा अहिलेसम्म ७४ जना सहिद भए, उनीहरूको अपमान हो । देशमा भएको व्याप्त भ्रष्ट्राचार र कुशासनबाट देशलाई मुक्त गर्न आन्दोलन चल्यो तर हामीले यो हाम्रो आन्दोलन भन्न सकिरहेको अवस्था छैन । के अब यसको श्रेय पनि विदेशीहरूलाई दिने हो त? यो कठिन प्रश्नको जवाफ दिन सक्नुपर्छ ।  यदि यो आन्दोलन पनि विदेशीको कारणले भएको हो भने तथ्यहरूले पुष्टि गर्न सक्नुपर्छ । पूर्वाग्रही भएर मात्र हेर्नुहुँदैन । यस्तो प्रकारको गलत र भ्रामक विश्लेषण गरेर गलत अर्थ लगाउनु हुँदैन । यो त एउटा हामीभित्रको लघुताभास मात्र हुन जान्छ र यसले हाम्रो आत्मविश्वास र आत्मसम्मान कमजोर बनाउँछ ।

नेपालका बौद्धिकवर्गहरु वास्तविकतामा पुग्ने भन्दा पनि दृष्टिकोण निर्माण गर्नेतिर लागेको पाइन्छ  यसरी दृष्टिकोण निर्माण गरेपछि कसरी घटनाहरूको सत्यतासम्म पुग्न सकिन्छ ? नेपालीहरू यति धेरै परिवर्तनगामी छन् तर सधैँ परिवर्तनको श्रेय भने विदेशीलाई जान्छ । वास्तवमा यो त नेपालीहरुप्रतिको अपमान हो । लघुताभास हो । यस्तो सोचले नेपालीहरूको मनोबल कमजोर हुन्छ । के साँच्चै नेपालीहरू देशमा परिवर्तन गर्न नसक्ने हुन त?

आजको अवस्था कसरी आइपुग्यो भन्ने कुरा यति सहज भन्न सकिन्न । यसको पछाडि अनेक कारणहरू होलान् र समयको अन्तराल पनि लामो छ । तर सारमा भन्नुपर्दा भने कुशासन नै यसको प्रमुख कारण हो । अर्को कुरा यति मात्र पनि होइन कि हामी जनताहरुपनि यसको कारण हौ । पार्टीगत राजनीति र पार्टी करण अनि हाम्रा व्यक्तिगत स्वार्थ हितका लागि हामी दलहरूबाट फाइदा लिन लाग्यौ र बिस्तारै यी कुराहरू स्थापित हुँदै गए र भए पनि । तर आम मानिसहरू जो राज्यबाट विमुख थिए उनीहरूले कहिल्यै पनि राज्यको उपस्थिति महसुस गर्न पाएनन् । विशेष नागरिकहरूले मात्र राज्यबाट पाउने सुख सुविधा पाए, प्रयोग गरे, उपभोग गरे । यही कारण पनि अहिलेको अवस्था आउनको लागि पृष्ठभूमि बन्न थाल्यो ।

जसरी जेन जीको आन्दोलनलाई आज व्याख्या र विश्लेषण गर्ने गरिएको छ । यो बिलकुल गलत धारणा हो । यो घटना पछाडि घुसपैठ नभएको होइन तर ती सबै नेपालीहरूका विभिन्न स्वार्थ समूह हुन सक्छन् । दलिए आधारमा रोटी सेक्नेहरू होलान् तर यति सजिलै विदेशीको डिजाइनमा भयो भन्नु गलत नजिर स्थापित गर्नु मात्र हो ।

यस्तो पूर्वाग्रही सोच र विश्लेषणले आखिरमा देशको भलो हुँदैन । यसले त विदेशीहरूलाई भोलीका दिनमा चलखेल गर्ने ठाउँ निर्माण गर्छ । हामी आफैले विदेशीले हस्तक्षेप गर्ने सक्ने वातावरण निर्माण गर्नु हुँदैन ।  नेपालमा जति पनि परिवर्तनहरू भए र हुन्छन्, ती नेपाली समाजको आवश्यकता अनुसार हुन्छन् । यसको श्रेय हामीले विदेशीलाई दिनु मूर्खता सिवाय केही पनि होइन । सबै कुरा विदेशीलाई दोष देखाएर हामी चोखिन सक्दैनौ । वास्तवमा जेनजी आन्दोलन नेपाली समाजको बेथिति विरुद्ध थियो, यसमा विदेशीको कदापि हात छैन । यो एउटा नेपाली समाजको आवश्यकता थियो ।

जेनजी आन्दोलन नेपाली समाजभित्रको असन्तुष्टिको विस्फोट थियो । देशमा भएको बेथिति विरुद्धको विद्रोह थियो । यसको दोष विदेशी शक्तिलाई थुपार्नु भनेको सत्य स्वीकार गर्न नसक्नु हो । विदेशीप्रति पूर्वाग्रह राख्नु र आफ्नो कमजोरीलाई ढाकछोप गर्नु  सही विश्लेषण होइन । यो आन्दोलनको वास्तविकता हाम्रो समाजभित्रबाट जन्मिएको थियो र यसको विरोध पनि यही समाजबाट भएको थियो । यसैले हामीले देशभित्र हुने यस्ता घटनाक्रमहरू तथ्यको आधारमा विश्लेषण गरी पहिल्याउनुपर्छ । पूर्वाग्रही दृष्टिकोणको आधारमा गरिएको विश्लेषणले सत्यसम्म पु¥याउन सक्दैन । विदेशी शक्तिको चलखेल भयो भनेर भ्रम सृजना गर्नु हामी लघुताभासबाट मुक्त नहुनु हो ।

सम्बन्धित समाचार

ताजा न्यूज