काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले देशलाई सामाजिक, सांस्कृतिक र भौगोलिक विविधतामाझ एकताको सूत्रमा बाँधेको बताएका छन्।
संविधान दिवसको अवसरमा आज राष्ट्रलाई शुभकामना दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासले शान्ति, सुशासन, विकास र समृद्धिको साझा लक्ष्य हासिल गर्ने बाटो खोलेको बताए।
राष्ट्रपति पौडेलका अनुसार, वर्तमान संविधानले विगतमा केन्द्रीकृत शासन व्यवस्थाले ल्याएका विभेद र असमानतालाई अन्त्य गर्दै समान अधिकारमा आधारित समावेशी समाजको निर्माण गर्ने प्रतिबद्धता लिएको छ। उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रले नागरिकलाई सेवा, सुविधा र सामाजिक सुरक्षामा समान पहुँच सुनिश्चित गर्ने विश्वास दिलाएको स्पष्ट पारे।
राष्ट्रपतिले संविधानको मर्मलाई व्यवहारमा उतार्न सबै तहका नागरिकले मन, वचन र कर्मबाट इमान्दार प्रयास गर्नुपर्नेमा जोड दिए। उनले मुलुकको सांस्कृतिक धरोहर र प्राकृतिक स्रोत–साधनलाई रोजगारी र आम्दानीको प्रमुख आधार बनाउन सकिने सम्भावनामा पनि विश्वास व्यक्त गर्दै सुशासनमार्फत जलस्रोत र ऊर्जा व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

