काठमाडौँ । आगजनीपछि ध्वस्त बनेको सर्वोच्च अदालतले बिहीबार त्रिपाल टाँगेर इजलास सञ्चालन गरेको छ। अस्थायी व्यवस्थामार्फत भएको यो सुनुवाइलाई न्यायालय सञ्चालनको ऐतिहासिक सन्देशका रूपमा लिइएको छ।
भदौ २४ गतेको प्रदर्शनमा सर्वोच्च अदालतमा आगजनी भएपछि मूल भवन प्रयोगयोग्य नरहेको अवस्थामा पहिलोपटक पालमुनि इजलास बसाइएको हो। बिहीबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको इजलासले नेपालगन्जका फिरोज आलमसम्बन्धी बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्यो।
इजलास कक्षको ठाउँमा त्रिपाल टाँगेर अस्थायी व्यवस्था गरिएको थियो। एकातर्फ न्यायाधीश बस्ने, अर्कोतर्फ वकिल बहस गर्ने र बीचमा इजलास अधिकृतको कुर्सी राखिएको थियो। न कम्प्युटर थिए, न पुस्तकालय, केवल स-साना कापी र कलमसहितको अस्थायी डेस्कमा सुनुवाइ गरिएको हो।
बिहीबार सुनुवाइ हुने जानकारीपछि वकिलहरू बिहानै अदालत परिसरमा पुगेका थिए। अधिवक्ता वीरेन्द्र पाठकले पहिलो बहस प्रस्तुत गर्दै आफ्नो मुवक्किल गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरे। उनले किर्ते र ठगीमा फसाइएको भन्दै तत्काल न्याय दिलाउनुपर्ने तर्कसमेत राखे।
आगजनीले अदालतको मूल भवन र कयौँ फाइल नष्ट भएपछि केही समयदेखि सुनुवाइ रोकिएको थियो। सर्वोच्चले भदौ २६ गते बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा स्थगित गर्ने घोषणा गरेको थियो। तर, त्रिपालमुनि भए पनि न्याय दिने काम निरन्तर रहने सन्देश दिँदै बिहीबारदेखि इजलास सञ्चालनमा आएको हो।


