काठमाडौं । चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको मुख्य अभियुक्तका रूपमा थुनामा रहेका दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन्।
उनी सोमबार उच्च अदालत पाटनको आदेशपछि डिल्लीबजार कारागारबाट रिहा भएका हुन्। उच्च अदालतले उनलाई दुई फरक मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो।
राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा अदालतले उनलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। यो आदेश न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासबाट आएको हो।
त्यस्तै, बैंकिङ कसुरसम्बन्धी अर्को मुद्दामा भने अदालतले २५ लाख धरौटी वा बैंक जमानतमा रिहा गर्ने आदेश दिएको छ। यस मुद्दामा न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले आदेश दिएको हो।
तीनकुनेमा चैत १५ गते प्रसाईंको नेतृत्वमा आयोजित राजावादी प्रदर्शन हिंसात्मक बनेपछि आगजनी र तोडफोड भएको थियो। उक्त घटनामा दुई जनाको मृत्यु भएको थियो भने २० भन्दा बढी घाइते भएका थिए। त्यसपछि काठमाडौँ जिल्ला अदालतले आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालतको सो आदेशविरुद्ध प्रसाईंले उच्च अदालतमा निवेदन दिएका थिए। अदालतको आदेशअनुसार धरौटी बुझाएपछि उनलाई कारागारबाट रिहा गरिएको हो।