मोर्गन इन्टरनेशनल स्कुलमा काठमाडौँ महानगरको अनुगमन, तीन दिनभित्र कागजात पेस गर्न निर्देशन

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा संयुक्त अनुगमन गरेको छ। अनियमितता सम्बन्धी उजुरीका आधारमा बिहीबार शिक्षा विभागसहित विभिन्न विभागका प्रतिनिधिहरूको टोलीले विद्यालयमा स्थलगत निरीक्षण गरेको हो।

अनुगमनपछि विद्यालयमा सञ्चालन, संरचना, र वैधानिकतासम्बन्धी गम्भीर कमजोरीहरू देखिएको महानगरको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाको भनाइ छ। विद्यालयले अन्तर्राष्ट्रिय स्तरको दाबी गरे तापनि सो अनुसारका पाठ्यक्रम, जनशक्ति र पूर्वाधार नदेखिएको उनले बताए।

“इन्टरनेशनल नाम राख्ने विद्यालयले त्यही स्तरको गुणस्तर दिनुपर्छ,” उनले भने, “तर यहाँ त आधारभूत मापदण्डसमेत पुरा छैनन्।”

विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएको दाबी गरेको छ। तर, स्थानान्तरण तथा अन्य वैधानिक कागजात स्पष्ट नभएको भन्दै महानगरले तीन दिनभित्र सम्बन्धित २२ विषयका कागजातहरू पेश गर्न निर्देशन दिएको छ।

महानगरले शिक्षा विभाग, शहरी योजना आयोग, राजस्व, कृषि तथा पशुपन्छी, सार्वजनिक निर्माण र शहरी व्यवस्थापन विभागका प्रतिनिधिहरू समेटेर संयुक्त टोली बनाएको थियो।

शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवालीका अनुसार छात्रवृत्तिका विद्यार्थीहरूबाट समेत शुल्क उठाइएको, क्यान्टिन सञ्चालन मापदण्ड विपरीत रहेको, भौतिक पूर्वाधार अपूर्ण रहेको लगायत समस्या फेला परेको छ। “यसअघि नै अनधिकृत शुल्क फिर्ता गर्न निर्देशन दिइएको थियो, तर गुनासो फेरि दोहोरिएपछि कडाइ गर्नुपरेको हो,” उनले भने।

महानगरले कागजात बुझाइएको आधारमा मात्र आगामी प्रक्रिया अघि बढाउने जनाएको छ। निर्देशन पालना नगरेमा कानुन बमोजिमको कारबाही अघि बढाइने चेतावनी पनि दिइएको छ।

सम्बन्धित समाचार

ताजा न्यूज