संस्थापक समूहको शेयर अभौतिकरणबारे सिडिएससीको प्रस्तावप्रति इप्पानको गम्भीर आपत्ति

काठमाडौं । संस्थापक समूहको शेयरलाई सर्वसाधारणको शेयरबाट छुट्टै ISIN नम्बर प्रदान गर्दै अभौतिकरण गर्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को प्रस्तावप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले गम्भीर आपत्ति जनाएको छ।

इप्पानका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाले संयुक्त वक्तव्य जारी गर्दै सो प्रस्तावले देशको पूँजी बजार, निजी क्षेत्र, वैदेशिक लगानी र ऊर्जा क्षेत्रमा गम्भीर नकारात्मक असर पार्ने बताएका छन्।

वक्तव्यमा भनिएको छ, “सिडिएससीको प्रस्तावले लगानीकर्ताहरूमा अन्यौल र निराशा मात्र फैलाएको छैन, यसले नेपालको पूँजी बजारको दीर्घकालीन विश्वसनीयतालाई समेत असर पुर्‍याउँछ।”

सिडिएससीले सबै कम्पनीका संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै ISIN नम्बर दिई अभौतिकरण प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डमा प्रस्ताव पठाएको हो। इप्पानले सो प्रस्ताव तत्काल फिर्ता लिन आग्रह गरेको छ।

इप्पानको भनाइमा, संस्थापक सेयरको लगानीमा विश्वास गुमेमा ऊर्जा क्षेत्रमा लगानी घट्नेछ, जसले आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य प्रभावित हुनेछ। यो योजनाका लागि अनुमानित ६१ खर्बको लगानी आवश्यक छ, जसमा ठूलो हिस्सा निजी क्षेत्र, गैरआवासीय नेपाली र वैदेशिक लगानीबाट जुटाउने योजना छ।

वर्तमान प्रणालीमा संस्थापक र सर्वसाधारण सेयर एउटै ISIN अन्तर्गत राखिँदै आएको छ। इप्पानले उल्लेख गरेको छ कि विद्यमान कानूनले सेयरमा लक–इन अवधि लगायतका सुरक्षा व्यवस्थाहरू राखेकाले छुट्टाछुट्टै ISIN आवश्यक छैन। नयाँ प्रस्तावले विपरीत कानुनी अभ्यास र अन्तर्राष्ट्रिय मान्यता विपरीत हुने बताइएको छ।

वक्तव्यमा भनिएको छ, “यो प्रस्तावले सेयर बिक्री प्रक्रियामा अनावश्यक जटिलता ल्याउनेछ, जसले गर्दा वैदेशिक लगानीकर्ताले लगानी फिर्ता लिनसमेत नसक्ने अवस्था आउन सक्छ।”

इप्पानले धितोपत्र बोर्डलाई प्रस्ताव अघि नबढाउन र अर्थ मन्त्रालयलाई प्रस्ताव फिर्ता गरी लगानी वातावरणलाई प्रोत्साहन गर्न आग्रह गरेको छ।

सम्बन्धित समाचार

ताजा न्यूज