अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन कांग्रेसकी सांसद कमला पन्तको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद कमला पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) का प्रमुख आयुक्त प्रेमकुमार राईमाथि महाअभियोग लगाउन माग गरेकी छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा बोल्दै पन्तले मुलुकको प्रमुख समस्या सुशासनको अभाव र बढ्दो भ्रष्टाचार रहेको उल्लेख गरिन्। उनले राजनीतिक दलबीचको अविश्वास, सेवाग्राही र सेवा प्रदायकबीचको विश्वासको संकट गहिरिँदै गएको भन्दै सरकार गम्भीर हुनुपर्ने चेतावनी दिइन्।

‘अहिलेको शासन व्यवस्थाले सदाचारको संस्कृतिलाई कमजोर बनाउँदै गएको छ। सामान्य काम गर्न पनि टेबुलमुनिबाट कारोबार हुने अवस्था छ,’ पन्तले भनिन्।

उनले वाइडबडी विमान खरिद प्रकरणमा अख्तियारले आफ्ना प्रमुख आयुक्त राईलाई बचाएको जस्तो देखिएको भन्दै विशेष अदालतको प्रश्नपछि उनको पदमा बस्ने नैतिक आधार नभएको दाबी गरिन्। ‘घुस प्रकरणमा मन्त्रीहरू समेत खुलेआम हिँडिरहेका छन्। मन्त्रिपरिषद् बोल्ने कि नबोल्ने?’ भन्दै उनले सरकारको भूमिकामाथि पनि प्रश्न उठाइन्।

सांसद पन्तले सुशासन, पारदर्शिता र अख्तियारको विश्वसनीयता पुनःस्थापना गर्न तत्काल ठोस कदम चाल्न माग गरिन्।

सम्बन्धित समाचार

ताजा न्यूज