काठमाडौँ ।पोखराको बाटुलेचौरस्थित लिची बगैंचाको सरकारी जग्गा हत्याउन गरिएको ‘गोप्य घुस डिल’ सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई बयानका लागि डाकेको छ।
गत साता सार्वजनिक भएको अडियोमा मालपोत तथा भूमि आयोगका अधिकारीसँग सेटिङ मिलाई जग्गा हत्याउनको लागि घुसको लेनदेन गरिएको स्पष्ट सुन्न सकिन्छ। यसैको केही दिनपछि, असार ३१ गते गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री पदबाट राजीनामा दिएका थिए।
अडियोमा तत्कालीन भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले समेत बिचौलियाको योजनाअनुसार काम गरिदिने सर्तमा ५ लाख रुपैयाँ र मदिरा स्वीकार गरेको दाबी गरिएको छ।
त्यस्तै, हालै सार्वजनिक संवादमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको समेत संलग्नता देखिन्छ। अडियोअनुसार, मन्त्री अधिकारीले आफ्ना छोरामार्फत घुस लिएको उल्लेख छ। तर, मन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन्।
गुप्ता र अधिकारी दुवै नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य हुन्। घुसको लेनदेन भएको आशंका भैंसेपाटीस्थित मन्त्री निवासमै भएको बताइएको छ। अख्तियार स्रोतका अनुसार, यस प्रकरणमा संलग्न सबै व्यक्ति अनुसन्धानको दायरामा छन्।
घटना सार्वजनिक भएसँगै सार्वजनिक सम्पत्तिको संरक्षण र राजनीतिक निष्ठाको सवालमा गम्भीर प्रश्न उठेका छन्। अख्तियारले यो प्रकरणलाई उच्च प्राथमिकताका साथ अनुसन्धान अघि बढाएको बताइएको छ।