काठमाडौं । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रहमा बस्ने भएका छन्। नगरपालिकाले राखेका सात बुँदे मागप्रति संघीय सरकारले कुनै चासो नदेखाएपछि उनले सत्याग्रहको घोषणा गरेका हुन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत नगरप्रमुख भट्टराईले साउन ११ गतेदेखि माइतीघर मण्डलामा सत्याग्रह सुरु गर्ने जानकारी दिए। उनका अनुसार उनी कपाल खौरिएर, मुखमा कालोपट्टी बाँधी, बाँसको घना बोकेर खाली खुट्टै भोकहड्तालमा सहभागी हुनेछन्। उक्त सत्याग्रह विहान ९ बजेदेखि साँझ ५ बजेसम्म ३ दिनसम्म सञ्चालन हुनेछ। तीन दिनभित्र सरकार गम्भीर नभए साउन १४ गतेदेखि आमरण अनशन सुरु गर्ने चेतावनी पनि उनले दिएका छन्।
नगरप्रमुख भट्टराईका अनुसार जेठ २३ र असार ६ गते नगरपालिकाले प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेको सात बुँदे मागप्रति अहिलेसम्म कुनै सम्बोधन नभएकाले सत्याग्रह गर्नु परेको हो।
सात बुँदे मागमा स्थानीय उत्पादनको प्रवर्द्धन, जलवायु परिवर्तनको असरबाट जोगिन ठोस कानुन निर्माण, सरकारी भवनहरूमा बाँस र अन्य कच्चा पदार्थ प्रयोग गर्न बिल्डिङ कोड र नम्स तय गर्ने, प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने उद्योगीहरूसँग स्थानीय तहले अतिरिक्त १० प्रतिशत कर लिन पाउने कानुन निर्माण, र प्रकृतिको दोहन गर्ने क्रसर उद्योगमा नियन्त्रण तथा कारबाहीसम्बन्धी व्यवस्था गर्नुपर्ने माग समावेश छन्।
त्यस्तै, बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाइ लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने र घरेलु उद्यम तथा स्वरोजगार प्रवर्द्धनका लागि प्रभावकारी कार्ययोजना आवश्यक रहेको उल्लेख छ।
“स्थानीय तहको आवाज संघीय सरकारसम्म नपुग्ने अवस्था आएको छ,” नगरप्रमुख भट्टराईले भने, “यदि अब पनि संघीय सरकारले स्थानीय सरकारको मागप्रति चासो नदिने हो भने यो संघीयता नै संकटमा पर्न सक्छ।”